कावासोती–आइतबार बेलुका आएको हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ।
साँझ आएको हावाहुरीका कारण घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी बस्ने लालन यादवको १० वर्षीया छोरी अञ्जलीको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय त्रिवेणीका अनुसार अञ्जलीको घटनास्थलमा नै मृत्यु भएको हो। हावाहुरीका कारण उडाएको जस्तापाताले लागेर अन्य केही व्यक्तिसमेत घाइते भएको प्रहरीले जनाएको छ।
हावाहुरीका कारण नेपाल भारत सीमा त्रिवेणी व्यारेज पुलमा सिसीटिभी अनुगमनका लागि स्थापना गरिएको अस्थायी प्रहरी पोष्टमा समेत क्षति पुगेको छ।





