हेटौँडा– चट्याङका कारण मकवानपुरगढी गाउँपालिका बुङदलमा एक महिलाको मृत्यु भएको भने एक घाइते भएकी छिन् ।
शनिबार राति हावाहुरीसँगै परेको चट्याङ लागेर बुङदल देउरालीकी २६ वर्षीया विमला घलानको घटनास्थलमै मृत्यु भएको हो भने कान्छीमाया स्याङतान घाइते भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइते स्याङतानको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । २० दिनअघि पनि सोही स्थानमा चट्याङ लागेर फूलमाया पाख्रिनको मृत्यु भएको थियो ।
चट्याङका कारण निरन्तर मृत्यु हुने र घाइते हुँदा पनि सम्बन्धित निकायले अर्थिङ जडानलगायत रोकथामको उपाय नगरेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् ।





