काठमाडौँ-काठमाडौँ–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ ।
आज शुक्रबारदेखि हरेक साता सङ्घीय राजधानी काठमाडौँबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं १ को राजधानी विराटनगरसम्मको हवाई सेवा शुरु हुने भएको हो ।
करीब तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प्रदेशको राजधानीसँग जोडेर पुनः उडान शुरु गर्ने तयारी भएको प्रदेश सांसद अम्बिरबाबु गुरुङले जानकारी दिए।
रुम्जाटार विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने गुरुङको विश्वास छ ।
यसअघि गत असोजमा तयारी गरिए पनि यात्रु अभावका कारण रुम्जाटारमा उडान शुरु हुनसकेको थिएन । अहिले सातामा एक दिन सेवा दिने र यात्रुको चापका आधारमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरेर थप अरु दिन पनि उडान भर्ने योजना रहेको नेपाल वायुसेवा निगमको क्षेत्रीय कार्यालयले जनाएको छ ।
अब भने हरेक साताको शुक्रबार नेपाल वायुसेवा निगमले नियमित रुपमा रुम्जाटारमा उडान भर्ने छ ।





