खत्याडवासीका पीडा : अध्ययनबिना सडक बनाउँदा बर्सेनि क्षति

मुगु– खत्याड गाउँपालिका मुगु जिल्लाको पश्चिम क्षेत्रमा पर्छ। रारा जलाधारमा पर्ने यो गाउँको बीचबाट खत्याड खोला बग्छ। साना–साना बस्ती। खोला किनारमै रहेको माझचौर बजार। ठूला, नांग्गा चट्टानी पहाड। देउडा, राडीपाखी र परम्परागत शैलीमा बनेका घरले भरिपूर्ण ग्रामीण जनजीवन। खत्याडमा देखिने दृष्य हुन यी। खत्याडमा पछिल्ला केही वर्षमा ग्रामीण सडक बने। यी सडकका कारण स्थानीयले केही क्षति पनि व्यहोर्नु परेको छ।

‘व्यक्तिगत रुपमा त क्षति छ। कुलो गयो, घर जोखिममा छ, खेत गयो । तर, सबै जनालाई फाइदा भएका कारण हामीले व्यक्तिगत क्षतिलाई केही मानेका छैनौ,’ खत्याड गाउँपालिका ४ का जगन्नाथ रावलले भने। सडकले सबै खेत, कुला र मुहान पुरिएको खत्याड गाउँपालिका ४ का मन्जन थापाले बताए।

५ देखि ५० किलोमिटरको सडक निर्माण गर्दा प्रारम्भिक वातावरणीय परिक्षण आइइइ र ५० किलोमिटर भन्दा बढी सडकका लागि वातावरणीय प्रभाव मूल्यांकन इआइइ अनिवार्य रुपमा गर्नुपर्छ । यसको आधारमा विस्तृत परियोजना रिपोर्ट डिपिआर तयार हुन्छ। डिपिआर तयार भए पछि टेन्डर माग हुन्छ। त्यसपछि सर्भे हुन्छ, अनि बाटो बन्ने काम सुरु हुन्छ। तर, धेरै जसो स्थानीयतहले सडक निर्माण गर्दा यस्ता कुरामा ध्यान दिएको देखिँदैन। त्यसैले फाइदाभन्दा नोक्सान ज्यादा भएका उदाहरण प्रशस्त पाइन्छ। खत्याड गाउँपालिकाले सडक निर्माण गर्दा पनि सबै मापदण्ड पूरा गरेको देखिएन।

‘निकुन्जभित्र परेकोलाई इआइए गर्ने भनेको छ। अरु त हामीले गरेको छैन । डिपिआर बनाएर गरेको हो,’ खत्याड गाउँपालिका उपाध्यक्ष जयनन्दा रावलले भने।

सडक निर्माण गर्दा अपनाउनु पर्ने सावधानी नअपनाउदा भोग्नु पर्ने सबै भन्दा ठूलो क्षति भनेको पहिरो हो। यो समस्या डोजर प्रयोग गरी बनाइएका सडकमा बढी हुने गरेको पाइन्छ। खत्याडमा बनेका सबै सडकमा डोजरको प्रयोग भएको छ। जसका कारण स्थानीयले ठूलो क्षति भोग्नुपरेको छ। सिँचाइको कुलो भत्किएको छ। गाउँपालिकाले क्षतिपूर्ति दिने भने पनि स्थानीयले पाएका छैनन्।

‘क्षतिपुर्तिको त कुरै छैन । अब कुलो बनाउन पनि असार मसान्त नभइ बजेट नदिने भनेको छ । यस्तै छ । हामीले कति धेरै करायौ ,भन्यौ । केही भएको छैन,’ गाउँपालिकाका उपाध्यक्ष रावलले भने।

सडकका यस्ता नकारात्मक प्रभाव भए पनि स्थानीयले सुविधा पाएका कारण खुशी छन् । सडकका कारण उनीहरूको जनजीवन केही सहज भएको छ।

‘सबैथोकलाई सजिलो भयो नी।’ भारत जान छाडे। सजिलो त भयो नी। तर, खेत भने लग्यो,’ खत्याड गाउँपालिका ४का डबलबहादुर थापाले भने।

‘यहाँ बनेका सडकमा व्यवस्थापनका कुनै पनि काम हुन सकेको छैन। सडकमा वर्षायामको पानी निकासको कुनै संरचना छैन। सडकमा कस्ता सवारी साधान गुडाउने भन्ने पनि स्पस्ट छैन। सडकमा घुम्ति तथा मोडहरू छोटा र साँघुरा छन्। बाटो निर्माण भएको स्थान हेर्दा भौगोलिक हिसाबमा सही स्थानमा बनेको छ भनेर भन्न सकिने अवस्था छैन,’ उनले भने।

‘खास गरी ग्रामीण सडक निर्माण गर्दा वातावरणमैत्री छ कि छैन भन्ने ख्याल गरियो गरिएन, बाटो लगिएको स्थान कस्तो छ , पानीको व्यावस्थापन कस्तो छ भन्ने कुरा ख्याल गर्नु पर्छ,’ ग्रामीण सडक विज्ञ सन्तोष पन्थीले भने।

सडक दीर्घकालिन उपयोग हुने संरचना हो । त्यसैले सडक निर्माण गर्दा दीर्घकालिन उपभोग कसरी गर्न सकिन्छ भन्ने सोच्न जरुरी छ । त्यो गर्न सके सडकबाट लाभ लिन सकिन्छ।

खत्याड गाउँपालिकाले पहिले डोजरले सडक बनाउँदा धेरै क्षति भएको महसुस गर्दै अब सडक बनाउँदा डोजर नचलाउने र स्थानीयलाई नै काम दिने योजना बनाएको छ।

‘पहिले अलिअलि डोजर लगाएको थियो।अब स्थानीयले नै काम गर्ने भनेका छन् । डोजर नलगाउने। कतै कतै स्थानीयले काम गर्न नसकेको स्थानमा प्राविधिकले डोजर लगाउनु पर्छ भने मात्रै प्रयोग गर्ने,’उपाध्यक्ष रावले भने।

वातावरणमैत्री सडक बनाउने योजना
गाउँपालिकाले अब भने वातावरण मैत्री बाटो बनाउने योजना बनाएको छ । पहिले धेरै क्षति पुगेका कारण अब भने क्षति नहुने गरी दीर्घकालिन लाभ हुने गरी काम गर्ने तयारी गरेको छ । यसका लागि आवश्यक कार्यविधि पनि तयार भएको छ।
‘धेरै भूक्षय भयो। अब वातावरण पनि स्वच्छ चाहियो। भूक्षय नहोस्, स्वच्छ वातावरण होस् भन्नका लागि वातावरणमैत्री बनाउने योजना बनाएको उपाध्यक्ष रावल बताउँछन्।

सडक बनिसकेपछि त्यसको स्तरोन्नति आवश्यक हुन्छ। यसका मापदण्ड छन्। स्थानीयको सहभागितामा सडक निर्माण गर्ने योजना बनाएको गाउँपालिकाले सबै सडकमा अनिवार्य विरुवा रोप्नु पर्ने नियम बनाएको छ।

गाउँपालिकाले सडक बनाउँदा अनिवार्य रुपमा रुख रोप्न लगाउने योजनाबनाएका रावलको भनाइ छ। क्षतिभएको स्थानमा रुख रोप्नु पर्ने, सडक जति बन्यो त्यति नै वृक्षरोपण गरिने रावलले जनाए।

ताजा समाचार

सम्बन्धित समाचार