वायु प्रदूषणले जोखिम बढे पनि सर्वसाधारणलाई छैन मतलव

काठमाडौँ– देशको राजधानी काठमाडौँ पछिल्लो समय वातावरण प्रदूषणको सिकार बन्दै गएको छ। उपत्यका भित्र अव्यवस्थित रूपमा गुड्ने गाडीको धुवाँ, बन्दै गरेका सडक तथा घरका लागि सडकमा छरपष्ट राखिएका निर्माण सामग्रीले शहरलाई झनै अव्यवस्थित र कुरूप बनाएको छ।

काठमाडौँ शहरमा यात्रा गर्दा आफ्नो स्वास्थ्यको ख्याल नगरी हिँड्ने हो भने ज्यान नै जोखिममा पर्ने सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको छ । प्रदूषित शहरबाट निस्कने हानिकारक तत्वले मानव स्वास्थ्य र स्वासप्रश्वासमा गम्भीर असर देखा पर्न थालिसकेको छ । स्वास्थ्यमा असर गर्ने थाहा हुँदा हुँदै पनि यात्रीहरू भने हेलचक्र्याइँ गरिरहेका देखिन्छन्।

पर्यावरण सूचाङ्क (ईपीआई) रिर्पोट २०१८ का अनुसार वायु प्रदूषण धेरै हुने मुलुकमा नेपाल १७६ औँ नम्बरमा पर्छ। प्रतिलिटर ५० पैसाका दरले असुल गरिएको प्रदूषण नियन्त्रण शुल्कबाट पाँच अर्ब २० करोड १५ लाख रुपैयाँ वातावरण संरक्षण कोषमा सङ्कलन भए तापनि प्रदूषण नियन्त्रण एवं रोकथाममा खर्च गर्न भने भएको छैन्।

उपत्यकामा बढ्दै गएको वायु प्रदूषण तथा धुलो धुवाँबाट बच्न केही मानिसहरूले मास्कको प्रयोग गरेपनि प्रायले यसलाई खासै महत्त्व दिएका छैनन्।

वातावरण प्रदूषण सँगसँगै धुलो धुवाँबाट गम्भीर प्रकृतिका रोगहरू लाग्दै आएको अनुसन्धानले देखाए पनि मानिसहरू भने यसप्रति सचेत देखिँदैनन् । हालै मात्र हाकाहाकीले ‘काठमाडौँ बासीहरू वातावरण प्रदूषणको असरबारे कत्तिको सचेत छन् त ?’ भन्ने विषयमा सर्वेक्षण गरेको छ। १० जनामा गरिएको सर्वेक्षणमा धुलोकै कारण विभिन्न रोग लाग्छ भन्ने थाहा भए पनि मास्क भने कमैले मात्र प्रयोग गर्ने गरेको देखिएको छ । १० जनामध्ये ३ जनाले मास्कको प्रयोग गरेको बाँकी ७ जनाले प्रयोग नगरेको सर्वेक्षणले देखाएको छ।

सर्वेक्षणअनुसार धेरै जस्तो मानिसहरू मास्कको प्रयोग गर्नै झन्झट मान्ने गर्छन् । उनीहरूलाई मास्कको प्रयोग गर्दा असजिलो हुने, गर्मी हुने, सास फेर्नै कठिन भएजस्तो महसुस हुने भएका कारणले गर्दा नै मास्क नलगाउने बताउँछन् । अहिलेसम्म केही पनि असर गरेको छैन सामान्य रुघा खोकी त लागिहाल्छ नि भन्दै बेवास्ता गर्ने गरेको सर्वेक्षणमा देखिएको छ।

लाजिम्पाट घर भएका ७८ वर्र्षीय भोला तामाङ जतिसुकै धुलो धुवाँ भए तापनि मास्कको भने प्रयोग गर्दैनन् । ‘राम्रो कुुरा नेपालीलाई पच्दैन, त्यस्तै हो, स्वास्थ्यमा असर गर्छ भन्ने मलाई पनि थाहा छ, तर मास्क लगाउन असजिलो हुन्छ,’ उनी भन्छन्, ‘बुढो भइयो, अहिलेका केटाकेटी सबैले लाउँछन्।’

धादिङ घर भई काठमाडौँमा बसेर अध्ययन गरिरहेकी सदीक्षा गिरी पनि मास्क प्रयोग नगर्ने समूहअन्र्तगत पर्छिन् । ‘धुलो धुवाँले मानव स्वास्थ्यमा असर गर्नुका साथै छाला एलर्जी, दम तथा खोकी लाग्छ भन्ने थाहा छ,’ उनी भन्छिन्, ‘तर मास्कको प्रयोग गर्दा सास फेर्नै अफ्ठ्यारो लाग्छ ।’ असरबारे थाहा भए तापनि आफ्नो स्वास्थ्यप्रति सचेत हुन भने नसकिरहेको यस सर्वेक्षणले प्रष्ट पारेको छ।

१० जनाको सर्वेक्षणमा मास्क प्रयोग गरेका ३ जनाले भने काठमाडौँको धुलो तथा धुवाँप्रति एकदमै गुनासो गरेका छन्। सरकारी स्तरबाट वातावरण नियन्त्रणका निम्ति कुनै पनि प्रकारको पहल नभए तापनि आफ्नो स्वास्थ्यको ख्याल गर्नको निम्ति प्रयोग गरिरहेको बताउँछन् । मास्क कहिल्यै नछुटाउने कीर्तिपुरका राजु बिष्ट धुलोले धेरै नै असर गर्ने बताउँछन्। ‘एउटा बोटविरुवामा अलिकति धुलो पर्दा त असर पर्छ’, उनले भने, ‘मानिसमा त झन् किन नपर्ने, धेरै असर गर्छ।’

वातावरणविद् भुषण तुलाधर काठमाडौँमा वास्तविक मापदण्डभन्दा ५ गुणा बढी प्रदूषण भएको बताउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार सामान्यतया वायुको मात्रा १० माइक्रो ग्राम प्रति घनामिटर हुनुपर्नेमा काठमाडौँमा भने ५० माइक्रो ग्राम प्रति घनमिटर रहेको छ। गर्मीमा पानी पर्ने कारण केही मात्रामा घटेको भए तापनि जाडोमा बढी मात्रामा ईटाभट्टीहरू सञ्चालनमा आउने, आगो बाल्ने, फोहोर बस्तु जलाउने भएकाले बढी प्रदूषण हुने गरेको वातावरणविद् तुलाधरको भनाइ छ।
हदभन्दा बढी मात्रामा धुवाँ उडाउने सवारी साधानहरू, शहरको धुलो तथा धुवाँ, (२.५ माइक्रोन वा सोभन्दा साना, जसलाई पीएम भनिन्छ ), २.५ भन्दा बढी मात्राका धुलोका कणहरू, ट्राफिक जाम, ईटाभट्टा तथा फोहोर जलाउँदा वायु प्रदूषण भएको तुलाधरले बताए।

लुम्बिनी, नेपालगञ्ज तथा विरगञ्ज लगायतका शहरी तथा तराई क्षेत्रमा उद्योगधन्दा, इट्टा कारखाना तथा सिमेन्ट कारखानाबाट बढी धुवाँ निस्कदा प्रदूषणको मात्रा बढेको छ। गाउँघरमा भने आगो बाल्ने तथा भान्साबाट निस्कने धुवाँले पनि वातावरणमा प्रदूषण गर्ने गरेको छ।

“प्रदूषण नियन्त्रणको लागि धुलो धुवाँ फाल्ने सवारी साधनलाई हटाएर विद्युतीय साधनको प्रयोग गर्ने र प्रदूषणमा सघाउने साधनहरूको प्रयोगमा कमी ल्याउने गर्नुपर्छ,” उनले भने, “नियन्त्रणका योजनाहरू बनाए तापनि कार्यान्वयन भने हुन सकेको छैन, यसलाई सरकारको इच्छाशक्तिमा कमी भन्न सकिन्छ।”

ताजा समाचार

सम्बन्धित समाचार