काठमाडौँमा आजदेखि ‘स्मार्ट पार्किङ’

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले  न्युरोड क्षेत्रमा ‘स्मार्ट पार्किङ’ सेवा शुरू गरेको छ।

‘ब्हिल्स ट्रली योर्स प्रा.ली’ ’ र ‘एड गुरु’को सहकार्यमा सवारीसाधनको अव्यवस्थित चापलाई कम गर्ने उद्देश्यले महानगरले आज(बिहीवार) देखि स्मार्ट पार्किङ सेवा सुचारू गरेको हो।

खिचापोखरी सडक, पाको सडक, प्युखा मार्ग, शुक्रपथ र धर्मपथ गरी पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्था मिलाइएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए।

हाल पाँच स्थानमा परीक्षण भइरहेकोले औपचारिक रूपमा सुरुवात गर्न अझै केही समय लाग्ने डंगोलको भनाई छ। ‘परीक्षणको लागि आज (विहिबार) बाट शुरू गरेका हौं,’ उनले भने, ‘यो प्रणाली व्यवस्थित भएपछि मात्रै हामी औपचारिक उद्घाटन गर्छाैँ।’

सेवा प्रयोग गर्न चाहने व्यक्तिहरूले स्मार्ट फोनमा ‘केटीएम पार्क’ नामक एप डाउनलोड गरी आफ्नो साधन पार्किङ गर्ने स्थान बुक गर्न सक्ने उनले बताए। ‘एपमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधन छनोट गर्नुपर्ने हुन्छ,’ उनले भने।

उनका अनुसार बुकिङ गर्ने सेवाग्राहीले आफूले भनेको समयमा पार्किङ बुक गरेको स्थानमा नपुगे बुकिङ रद्द हुनेछ।

सुविधा प्रयोग गरेवापत सेवाग्राहीले दुई पाङ्ग्रे सवारीका लागि कर बाहेक प्रति घण्टा २५ रुपैयाँ र चार पाङ्ग्रे सवारीका लागि प्रति घण्टा ६० रुपैयाँ लाग्ने बताउँदै भने, ‘पार्किङ गरेको शुल्कको कूल आम्दानीको २० प्रतिशत रकम महानगरपालिकाललाई आउँछ।’

शुल्कको कूल आम्दानीको ८० प्रतिशत साझेदार कम्पनीले पाउने छ भने स्मार्ट पार्किङको सबै जिम्मेवारी साझेदार कम्पनीलाई नै दिइएको छ।

सवारी साधनको अत्याधिक चापका कारण ट्राफिक जाम हुनुका साथै शहर अस्तव्यस्त भएपछि त्यसलाई व्यवस्थापन गर्न महानगरले स्मार्ट पार्किङ योजना अघि सारेको हो। स्मार्ट पार्किङ सेवाले काठमाडौँ उपत्यकामा भएको अव्यवस्थित पार्किङको समस्या केही हदसम्म कम गर्ने महानगरको विश्वास छ।

ताजा समाचार

सम्बन्धित समाचार