चितवन – गणतन्त्र दिवसका अवसरमा वन्यजन्तुसँग सम्बन्धित मुद्दाका कैदीलाई आममाफी दिनबाट रोकिएको छ। फौजदारी कसुर सजाय तथा कार्यान्वयन ऐनले अन्य मुद्दामा झैँ बन्देज नलगाएको भए पनि सिफारिस गरिएका त्यस्ता कैदीबन्दीलाई आममाफी नदिइएको हो।
कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीका अनुसार देशभरका कारागारबाट वन्यजन्तुसँग सम्बन्धित ८० को नाम सिफारिस गरिएको भए पनि यस मुद्दाका कसैले पनि आममाफी नपाएका हुन्। मैनालीले कारागार नियमावलीमा वन्यजन्तुसँग सम्बन्धित मुद्दाका कैदीलाई आममाफी दिन बन्देज लगाइएकाले रोकिएको बताए।
सबैभन्दा बढी चितवन कारागारबाट वन्यजन्तुसँग सम्बन्धित ३९ कैदीको आममाफीका लागि सिफारिस गरिएको थियो। उनीहरु अधिकांश गैँडा तस्करीमा संलग्न भएको अभियोगमा थुनामा छन्। जिल्ला कारागार चितवनका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार भरतपुरमा मात्र वन्यजन्तुका ९६ कैदीबन्दी छन् । वन्यजन्तुसँग सम्बन्धित तीन वृद्धसहित ३९ को सिफारिस गरिएकामा तिनीहरुको आममाफी नभएको उनले बताए। विसं २०६२ सम्म वन्यजन्तुसँग सम्बन्धित कैदीले आममाफी पाउने गरेको भए पनि त्यसयता नपाएको काफ्लेले जानकारी दिए।
कूल सिफारिस भएका ५७ मध्ये हातहतियार, डाँका र सवारी ज्यानका १५ ले मात्र आममाफी पाएका छन्। गणतन्त्र दिवसका अवसरमा देशभरका कारागारबाट ४३४ लाई आममाफी दिइएको छ। आधा कैद भुक्तान गरी असल चालचलन भएकालाई विशेष अवसर पारेर आममाफी दिने प्रचलन छ। सबै मुद्दाका कैदीबन्दीले आममाफी नपाउने व्यवस्था छ।रासस





