काठमाडौँ – राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न सरकारले सात अर्ब ३९ करोड बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार सङ्घीय संसदको संयुक्त बैठकमा आव २०७६/०७७ को बजेट प्रस्तुत गर्दै मेलम्ची आयोजनालाई रु सात अर्ब ३९ करोड बजेट विनियोजन गरिएको बताए।
यस्तै सोही आयोजनाको दोस्रो खण्डको समेत प्रक्रिया शुरु गरिने भएको छ। इटालीको ठेकेदार कम्पनी सिएमसीले अलपत्र पारेको सो आयोजनालाई सरकारले हालै मात्र नयाँ प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । निर्माण व्यवसायीले तोकिएको समयमा नै काम गरेको भए सो आयोजना हाल सञ्चालनमा आइसक्ने थियो।
गत माघदेखि अलपत्र सो आयोजनालाई अगाडि बढाउन केही दिनअघिको मन्त्रिपरिषद्को बैठकले आवश्यक निर्णय गरेको थियो । यस्तै साना तथा मझौला खानेपानी आयोजना सम्पन्न गर्ने गरी बजेटको व्यवस्था गरिएको छ ।





