
काठमाडौँ– काठमाडौँ उपत्यकामा अव्यवस्थित रुपमा बढ्दै गएको जामलाई कम गर्ने उद्देश्यले ट्राफिक प्रहरीले गत २ पुसबाट पिक एण्ड ड्रपको अवधारणा ल्यायो। ट्राफिकले अहिले रत्नपार्क, सुनधारा, गौशाला, कोटेश्वर, कलंकी लगायतका स्थानमा उक्त अवधारणा कार्यान्वयन गरेको छ।
पिक एण्ड ड्रप कार्यान्वयन भएसँगै सार्वजनिक सवारीले तोकिएको निश्चित क्षेत्रमा मात्र यात्रु चढाउने र ओराल्ने गरिरहेको छ। यसले गर्दा उपत्यकाको ट्राफिक जाममा केही कम भएपनि सर्वसाधारण भने यो नियमले सास्ती खेप्नु परेको बताउँछन्। तर, केही भने यो नियमप्रति सकारात्मक पनि छ।
यसै सन्दर्भमा हाकाहाकीकर्मी सुनिता सुवेदीले ‘पिक एण्ड ड्रप’को विषयमा सर्वसाधारणसँग कुरा गरेकी छिन्। पिक एण्ड ड्रपप्रति सर्वसाधारणको धारणा हाकाहाकी जनमतमा जस्ताको तस्तै :
तुलसीप्रसाद गिरी :
यो नियमका कारण एकदमै असुविधा भएको छ। भनेको समयमा गन्तव्यमा पुग्न पाइँदैन। आफूलाई सहज लाग्ने ठाउँबाट गाडी चढ्न पाए समयमा नै आफ्नो काम गर्न सकिन्थ्यो। अत्यावश्यक कामका लागि भनेको ठाउँमा गाडी नपाउँदा सर्वसाधारण मर्कामा परेका छन्। यो नियमले विशेषतः वृद्धवृद्धालाई बढी असर गरेको छ। भनेको ठाउँमा गाडी नपाउँदा लामो बाटो हिँडेर गाडी खोज्नुपर्छ। जसले वृद्धवृद्धालाई बढी समस्या पारेको छ।
अप्सरा मिश्र :
जहाँ पायो त्यहीँ चढ्न पाए त चढ्नेलाई सहज हुन्छ। तर यो नियमले जाम चाहिँ कम गरेको छ। गाडीमै जान सजिलो भएपछि एकछिन भए पनि हिँड्न पर्दैनथ्यो तर जाम हुनु भन्दा हिँडेकै ठिक हो।
निरज तामाङ :
यो नियम ठिकै छ जस्तो लाग्छ। तर पनि यसका सकरात्मक तथा नकरात्मक दुवै पक्ष देखिन्छन्। रोक्न दियो भने चाहिँ जाम हुन्छ, सवारी साधन अस्तव्यस्त देखिन्छन्। यो नियमले गर्दा नै केहीहदसम्म भए पनि ट्राफिक जाम नियन्त्रणमा आएको छ। भनेका ठाउँमा गाडी नरोक्दा हिँडेर टाढा पुग्दा चाहिँ पैदल यात्रीलाई साह्रै समस्या हुने गरेको छ।
वर्षा थापा :
मलाई त यो नियम ठिक लाग्दैन। यो नियमले सर्वसाधारणको दैनिकीलाई कठिन बनाइदिएको छ। समयमा नै गन्तव्यमा पुग्नका लागि गाडी पाइँदैन। अकस्मात रूपमा कतिपय ठाउँमा तत्कालै पुग्नु पर्ने हुन्छ। हतारमा पुग्नु पर्ने ठाउँमा गाडी खोज्नको लागि हिँडेर टाढा जानु पर्नें हुन्छ।





