पशुपतिमा अब ‘स्मार्ट शौचालय’

काठमाडौँ– पशुपति दर्शन गर्न आउने भक्तजनको सुविधाको लागि पशुपति विकास कोषले १९ वटा स्मार्ट शौचालय सञ्चालनमा ल्याउने भएको छ।

एक स्थानबाट अर्को स्थानमा सजिलै लैजान मिल्ने उक्त शौचालयको प्राविधिक काम बाँकी रहेकाले अबको दुई साताभित्र सञ्चालन गर्ने योजना रहेको कोषले जनाएको छ । शौचालयमा दाताको विज्ञापनसहितको स्टिकर टाँस्नुपर्ने भएकाले सञ्चालनमा केही समय लागेको कोषको भनाइ छ।

एभरेष्ट बैंकको सहयोगमा खरिद उक्त शौचालयमा विज्ञापनको लागि प्रयोग भएका स्टिकरहरू कोषको मापदण्ड विपरित भएकाले सञ्चालन गर्न ढिलाई भएकोे पशुपति विकास कोषका सञ्चालक परिषदका सदस्य राजु केसी बताउँछन्।
बैंकले उक्त शौचालय चीनबाट खरिद गरी कोषलाई हस्तान्तरण गरिसकेको केसीले जनाए।

पशुपति क्षेत्रमा राख्न लागिएका स्मार्ट शौचालयहरू अन्य शौचालयको तुलनामा केही फरक छन् । उक्त शौचालय सामान्य शौचालयभन्दा फरक भएकाले प्रयोगमा सहज हुने केसीको भनाइ छ।

‘शौच गरिसकेपछि पानीको प्रयोग गर्नका लागि खुट्टाले पम्प थिचेपछि पानी फल्स हुन्छ,’ उनले भने, ‘एउटै शौचालयमा पुरुष र महिलाको लागि छुट्टाछुट्टै व्यवस्था रहेको छ।’

शौचालयभित्र ३ सय ५० लिटरको ट्यांकी राखिएको छ । सर्वसाधारणले शौचालय निःशुल्क प्रयोग गर्न पाउनेछन् ।
कोषका अनुसार उक्त शौचालयले लिकुइड बनाउनुका साथै फोहोर डिस्चार्ज गर्ने भएकाले शौचको पानी बगैँचामा समेत प्रयोग गर्न मिल्नेछ।

पशुपति मन्दिर परिसरमा चाड पर्वको समयमा सार्वजनिक शौचालयको समस्या भएकाले स्मार्ट शौचालय प्रयोगमा आइसकेपछि भक्तजनलाई शौचको लागि सहज हुने कोषकोे अनुमान छ।

अहिले पशुपति परिसरमा १२ वटा शौचालयहरू सञ्चालनमा छन्। ती शौचालय साथै अब प्रयोगमा आउने स्मार्ट शौचालयको सरसफाई र सुरक्षाको जिम्मेवारी क्लब लगायत विकास कोषका कर्मचारीलाई दिइने कोषका परिषद् सदस्य केसीले बताए।
‘धार्मिक स्थलमा देशदेखि विदेशसम्मका श्रद्धालु भक्तजनहरू अवलोकनका लागि आउँछन् तर शौचालयको अवस्था कमजोर छ’ उनले भने, ‘जमाना अनुसार चल्न र भक्तजनहरूको सहजताको लागि पनि स्मार्ट शौचालयको आवश्यकता थियो।’

पहिलो पटक यस प्रविधिको शौचालय पशुपति क्षेत्रमा सञ्चालमा ल्याउने र यसको प्रभावकारिता हरेर अन्य ठाउँमा पनि राख्न सकिने केसी बताउँछन्।

उनका अनुसार स्मार्ट शौचालयलाई गुडाउन मिल्ने हुँदा बढी भीडभाड हुने स्थानमा राखिने छ । मन्दिर क्षेत्रभित्र जुत्ता राखिने ठाउँ, शव जलाउने घाट, मन्दिरबाट बाहिर निस्किने ठाउँ, पार्किङ स्थाललगायतका बढी भीडभाड हुने स्थानमा उक्त शौचालयको प्रयोग गरिनेछ। तीज, शिवरात्री, साउने सोमबार जस्ता पर्वहरुमा स्मार्ट शौचालय पशुपति क्षेत्रका विभिन्न स्थानमा राखिने कोषको योजना छ।

यसका साथै अन्य समयमा ६ स्थानमा मात्र उक्त शौचालय सञ्चालन गरिने छ। कोषका अनुसार उक्त शौचालय गौशलाबाट पशुपतिनाथ जाने स्थानमा ४ वटा र गुहेश्वरीबाट पशुपति आउने स्थानमा २ वटा राखिनेछ।

पहिलो पटक स्मार्ट शौचालय प्रयोगमा ल्याउन लागेको कोषले आगामी दिनमा अपाङ्गमैत्री शौचालय पनि सञ्चालनमा ल्याउने जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार