धनगढी–कैलालीका किसानहरू धानको बिउ राख्ने तयारीमा लागेका छन्। गहुँ भित्र्याएपछि वैशाखभरि बाझैँ रहेको खेतमा जेठको दोस्रो हप्तापछि गोबर मल थुपार्दै छन्। बिउ राख्न सबै तयारी सकिएपनि सुख्खा जमिनले एक थोपा पानी पाएको छैन।
‘चैत, वैशाखमा पानी परेर जमिन भिजिसक्थो। अनि भिजेको जमिनमा धानको बिउ राख्थ्यौं। तर, जेठको १४ लाग्दा समेत पानीको थोपा परेको छैन,’ धनगढी उपमहानगरपालिका– १८ फुलबारीका ७० वर्षीय मानबहादुर खड्काले भने।
उनका अनुसार तराईका किसानहरूले गहुँ काटेपछि टेक्टर लगाउँछन्। टेक्टर लगाएको खेतमा पानी परेपछि मेडी लगाएर जेठमा पानी परेपछि धानको बिउ छर्ने चलन छ।
‘पहिला यस्तो खडेरी पर्दैनथ्यो। आजकल न आकाशको पानी पर्छ नत जमिनबाट पानी आउँछ,’उनले भने,‘बोरिङको पानीपनि निकै कम आउन थालेको छ। पानी नपरे कसरी बाँच्ने ।’ खड्काले दुई बिघा जमिनमा खेती गर्दै आएका छन्।
फुलबारीकै ६५ वर्षीय सन्त कार्कीले ४०÷५०वर्ष अगाडिसम्म अहिलेको जस्तो खडेरीले सताएको अनुभव गरेका थिएनन्। अहिले जस्तो जमिन सुख्खा, तातो हावा र पोल्ने गर्मीले उनलाई कहिले सताएन। ‘पहिला त गाउँ थियो। तर,अहिले गाउँपनि शहर बनेको छ। रुखविरुवाले गाउँ हरियाली देखिन्थ्यो, तर अहिले गाउँतिर पनि रूख निकै कम मात्रामा मात्र छन्।’
पानी नपर्दा आफूहरू जस्ता किसानलाई धेरै सास्ती हुने उनी बताउँछन्।‘आकाशे पानी नपरे कसरी खेती लगाउने। यहाँ सिंचाईंको व्यवस्था पनि छैन। भएको बोरिङ्गको पानी पनि कम आउँछ।’
धनगढी उपमहानगर–१ की सुजाता थापालाई पनि पानी पर्दैन कि भन्ने चिन्ताले सताएको छ। ‘जमिन सुख्खा छ। आकाशबाट पानी पर्ने नाम लिँदैन। पानी नपरी धानको बिउ त जेनतेन राखौंला। धान कसरी रोप्ने हो,’उनले भनिन्।
गहुँ भित्राएपछि दुई तीन पटक पानी परीसक्नुपर्ने भए पनि कैलालीको जमिनमा पानीको थोपा परेको छैन। कैलालीमा ७१ हजार २५० हेक्टर जमिनमा धान खेती हुँदै आएको छ।





