Sunday, September 29, 2024

वनको वैज्ञानिक व्यवस्थापन

दमौली  : वनलाई व्यवस्थित गरी बढीभन्दा बढी फाइदा लिने उद्देश्यसहित तनहुँका १२ वटा सामुदायिक वनको वैज्ञानिक व्यवस्थापन कार्य शुरु गरिएको छ । सामुदायिक वनलाई हराभरा बनाउने र उपभोक्तालाई आम्दानीको स्रोत बढाउने उद्देश्यसहित जिल्लाका १२ वटा सामुदायिक वनको वैज्ञानिक व्यवस्थापन गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

सहायक वन अधिकृत बाबुराम उप्रेतीका अनुसार व्यास नगरपालिकाको राजापानी, गलेखाम, सपनकोट, चण्डिका, भानु नगरपालिकाको रातमाटे पत्थरेढुङ्गा, म्याग्दे गाउँपालिकाको फूलबारी, शुक्लागण्डकी नगरपालिकाको जलदेवी र मिलन, भिमाद नगरपालिकाको रघुवलिसाप, रिसिङ गाउँपालिकाको ज्वालादेवी र चण्डि र घिरिङ गाउँपालिकाको चण्डि सामुदायिक वनको वैज्ञानिक व्यवस्थापन गरिएको छ ।

उहाँले भन्नुभयो, “वन जङ्गलमा रहेका पुराना रुखलाई हटाएर नयाँ रुख हुर्काउनु कार्यक्रमको उद्देश्य हो । उपभोक्तालाई ढलापडा र पुराना रुख काट्न अनुमति दिइएको छ ।” उहाँका अनुसार अनुमतिभन्दा बढी रुख कटान गरे वन ऐनअनुसार कारवाही हुनेछ ।

वनको हैसियतमा सुधार ल्याई उत्पादनमा वृद्धि गर्ने, वन पैदावरको आपूर्तिमा निरन्तरता एवं सहजता गराउने र स्थानीय रोजगारी सिर्जना गराई जैविक र वातावरणीय लाभ लिने उद्देश्यसहित वैज्ञानिक वन व्यवस्थापनलाई जोड दिइएको डिभिजन वन प्रमुख केदार बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सहभागितात्मक वन व्यवस्थापनबाट समूहमा हुने आम्दानीले स्थानीय अर्थतन्त्र र विकासमा टेवा पुग्ने, राजस्व वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय टेवा पुग्ने, स्थानीय समुदाय र वन क्षेत्रको सुशासनमा सुधार हुनेछ ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअनुसार पूरा वनलाई १० भागमा प्लटिङ गरिने र ती प्लटलाई पनि पुनःप्रत्येक प्लटबाट १० वटा ‘सवप्लट’मा विभाजित गरिनेछ । प्रत्येक वर्ष एउटा प्लटमा मात्र काम गर्ने गरी कार्ययोजना बनाइएको छ । यसरी विभाजित १०० वटा सवप्लटमा १०० वर्षमा काम पूरा हुनेछ ।

“वनको संरक्षण, सम्वद्र्धन र सदुपयोग नै वैज्ञानिक वन व्यवस्थापन गर्नु हो”, वन अधिकृत बरालले भने, “वनभित्र सुकेका, बूढा रूखलाई काटेर नयाँ बिरुवा रोप्दै वन व्यवस्थापन गरिनेछ ।” उहाँका अनुसार वैज्ञानिक वन व्यवस्थापनका लागि ५०० हेक्टरभन्दा बढी क्षेत्रफल भएको तर १०० हेक्टर वा सो भन्दा बढी क्षेत्रफल उपयुक्त मानिन्छ ।

सामाजिक, आर्थिक तथा वातावरणीय हिसाबले उपयुक्त र वनले प्रदान गर्ने वस्तु तथा सेवाको निरन्तरता वा वृद्धि हुने गरी गरिने दिगो वन व्यवस्थापन नै वैज्ञानिक व्यवस्थापन हो । सामुदायिक वन संरक्षित रहेको र व्यवस्थापनप्रति उदासिन भएको अवस्थामा सामुदायिक वनलाई वैज्ञानिक व्यवस्थापनतर्फ लैजान अपरिहार्य भएको यो सरकारको प्राथमिकता रहेको हो ।

तनहुँको कूल क्षेत्रफलमध्ये ७८ हजार ११२ हेक्टर ९५० प्रतिशत० भू–भाग वनले ओगटेको छ । डिभिजन वन कार्यालयले जिल्लाका अन्य सामुदायिक वनमा समेत वैज्ञानिक व्यवस्थापन गर्ने योजना बनाएको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार