
काठमाडौँ – पछिल्लो समय सार्वजनिक यातायातमा चालक तथा सह चालकका रुपमा महिला पनि सक्रिय बन्दै गइरहेका छन् । प्राय उक्त काममा महिला भन्दा पुरुषको बाहुल्यता रहँदै आएको छ। तै पनि महिलाहरू आजभोली चालक तथा सह चालकको भूमिकामा देखिँदै आएका छन्। यसरी सवारी चालक र सहचालका रूपमा महिलाहरूले समेत काम गदैगर्दा सर्वसाधारणबाट भने विभिन्न टिकाटिप्पणी आउन थालेका छन्। सर्वसाधारणबाट यस विषयमा सकारात्मक र नकारात्मक दवै खाले धारणा आइरहेको छ । यसै सन्दर्भमा हाकाहाकीकर्मी सुनिता सुवेदीले सार्वजनिक सवारीमा महिला चालक तथा सहचालक हुनलाई कसरी लिनुहुन्छ भनेर सर्वसाधारणसँग प्रश्न गरेकी छिन्। उनीहरूको जवाफ हाकाहाकी जनमतमा जस्ताको तस्तै :
रामबालक यादव :
उनीहरूले कमाएर खाइरहेको देख्दा राम्रो लाग्छ। तर, महिलाहरूले सार्वजनिक सवारी साधन चलाएको समाजमा राम्रो मानिदैन । समाजमा महिला भएर पनि यस्तो काम गरेको छ भनेर कुरा काटिरहेका हुन्छन्। त्यस्तो भनेको सुन्दा चाहिँ नराम्रो लाग्छ।
दिपक भारती :
मलाई चाहिँ ठीक हैन जस्तो लाग्छ। महिलाले गर्ने काम यो हैन। महिला आत्मसक्षम भएर केही गर्छु नै भन्ने हो भने पनि अन्य धेरै कामहरू छन्। गाडीमा हिँड्दा भारी तथा कठिन काम गर्नुपर्छ जुन महिलालाई सहज भने हुँदैन । गाडी बिग्रिँदा र टायर फेर्नु परेका बेलामा एकदमै गाह्रो हुन्छ। साथै अन्य पुरुष चालक तथा यात्रीहरूबाट पनि दुव्र्यवहार हुन सक्छ।
सविन सुनुवार :
महिला चालक तथा सहचालक हुनु भनेको महिला शसक्तीकरणको एउटा उदाहरण हो जस्तो लाग्छ । महिलाहरू आफूले पनि केही गर्नुपर्छ भनेर अगाडि बढिरहेका छन् । हाम्रो समाजमा आत्मनिर्भर तथा सक्षम हुनु नै ठूलो कुरा हो । मलाई त एकदमै ठिक लागेको छ ।
स्मृती कार्की :
केटा र केटी दुबै बराबर हुन् । केटाले गर्ने काम केटीले गर्दा केही फरक पर्दैन। केटीहरूले पनि यस्तो काम गरिरहेका छन् भनेर मानिसहरूले विभिन्न टिकाटिप्पणी गरिरहेका हुन्छन् । तरपनि उनीहरूको बाध्यतालाई हामीले बुझ्न सक्नु पर्छ । जीवन चलाउर्न पर्यो, पुरुषले गर्ने काम महिलाले गर्न सक्दैनन् भन्ने होइन । काम, काम नै हो, कामको सम्मान गर्नसक्नु पर्छ । कामको सम्मान गर्ने हो भने हाम्रो जस्तो देशका युवाले पराइको दास बन्नु पर्दैन जस्तो लाग्छ मलाई।





