पानीको अभावमा विद्यालयका शौचालय प्रयोगविहीन

महेन्द्रनगर – शुक्लाफाँटा नगरपालिकाका सबै सामुदायिक विद्यालयमा शौचालय निर्माण गरिएका छन् । सरकारी तथा गैरसकारी संस्थाको आर्थिक र भौतिक सहयोगमा निर्माण गरिएका शौचालयमा पानी नहुँदा अधिकांश विद्यालयका शौचालय प्रयोगविहीन भएका छन्।

शुक्लाफाँटा नगरपालिकामा ३२ वटा सामुदायिक विद्यालय छन्। तीमध्ये अधिकांशका शौचालय अव्यवस्थित छन्। व्यवस्थित शौचालय र पानी नहुँदा विद्यार्थी तथा शिक्षक खुल्ला ठाउँमा शौच गर्न बाध्य छन्। शुक्लाफाँटा नगरपालिका–१० टोटीको त्रिमूर्ति आधारभूत विद्यालयका शिक्षक शौचालयभन्दा बाहिर शौच गर्नहुँदैन भनेर कक्षा कोठाभित्र सैद्धान्तिक शिक्षा दिने गर्छन्। तर, विद्यालयको शौचालय अव्यवस्थित हुँदा उनीहरू नै कक्षा कोठाबाट बाहिर निस्कने बित्तिकै शौच गर्न झाडी र खोला किनारमा पुग्छन्।

शिक्षकले पढाउँदा शौचालयमै शौच गर्नुपर्छ भन्नुहुन्छ, तर आफैँ झाडी र खोला किनारमा जानुहुन्छ,’

विद्यालयमा शौचालय छ तर, प्रयोगमा छैन्। त्रिमूर्ति आधारभूत विद्यालयका शिक्षक, विद्यार्थीलाई विद्यालय समयमा झाडी र खोला किनारमा शौच गर्ने बानी परिसकेको छ। विद्यालयको शौचालय अस्तव्यवस्त हुँदा विद्यालयका शिक्षक, विद्यार्थीले टोटी खोलामा शौच गर्नेगरेको स्थानीय विवेक ओझाले बताए । ‘स्कुलमा शौचालय छ, शिक्षक विद्यार्थीले प्रयोगमा ल्याएका छैनन्, खोलामा शौच गर्न जान्छन्, जसले गर्दा वातावरण प्रदूषण भइरहेको छ,’ उनले भने।

विद्यालयमा खानीपानीको समेत अभाव रहेको ओझाले बताए। ‘यहाँका विद्यार्थी फोहोर पानी पिउन बाध्य छन्, यो समस्याको सरोकारवालाले समयमै सामाधान खोज्नु आवश्यक छ,’ उनले भने । विद्यालयका शिक्षक विद्यार्थी झाडी र खोलाकिनारतिर शौच गर्न बाध्य भएको विद्यार्थी मोहित महरले बताए । ‘घरमा शौचालय छ, तर अव्यवस्थित, शिक्षकले पढाउँदा शौचालयमै शौच गर्नुपर्छ भन्नुहुन्छ, तर आफैँ झाडी र खोला किनारमा जानुहुन्छ,’ उनले भने।

विद्यालयको आर्थिक अवस्था नाजुक हुँदा शौचालय व्यवस्थित बनाउन नसकिएको विद्यालयका प्रधानाध्यापक अम्मरराज उपाध्याय बताउँछन्। ‘विद्यालयमा शौचालय त छ, ढोका छैन, स्कुलको आर्थिक अवस्था कमजोर हुँदा मर्मत गर्न सकिएको छैन,’ उनले भने । शौचालयको सरसफाई तथा मर्मत गरे पनि स्थानीयले तोडफोड गर्ने गरेको उनले बताए । ‘यहाँ स्थानीय आएर जथाभावी शौच गरिदिन्छन्। स्कुलका दुई कोठामा स्थानीयले शौच गरेर शौचालय जस्तै बनाएका छन्,’ प्रधानाध्यापक उपाध्यायले भने।

कक्षा कोठाभित्र शौचालयभन्दा बाहिर शौच गर्नुहुँदैन भनेर विद्यार्थीलाई सिकाउने भए पनि बाध्य भएर खोला किनार जानु परेको उनले बताए। ‘कक्षा कोठाबाट बाहिर निस्किएपछि विद्यार्थीले सर शौचालय कता छ ? भन्दा झाडी, खोला किनारमा जाऊ भन्नु पर्ने बाध्यता छ,’ उनले भने, ‘शौचालयको समस्याबारे जनप्रतिनिधिलाई जानकारी गराएका छौँ, केही सहयोग रकम जुट्यो भने नयाँ शौचालय बनाउने सोचमा छौँ ।’

यस विद्यालयमा ३५ विद्यार्थी अध्ययनरत छन् । यहाँ कक्षा १ देखि ५ कक्षासम्म पठनपाठन हुँदै आएको छ । विद्यालयको अनुगमन गरेर समस्या समाधान गरिने शुक्लाफाँटा नगरपालिकाका शिक्षा शाखा प्रमुख टेकेन्द्रप्रसाद भट्टले बताए। ‘यहाँका सम्पूर्ण विद्यालयको अनुगमन गरेर समस्याको सामाधान गर्छौं,’ उनले भने। त्रिमूर्ति आधारभूत विद्यालय एक उदाहरण मात्र हो । यस्ता विद्यालयहरू नगरपालिका क्षेत्रभित्र धेरै छन् ।

ताजा समाचार

सम्बन्धित समाचार