काठमाडौँ – काठमाडौँ उपत्यकाका नदी र चक्रपथ सफाइ गरी शनिबार २३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रका स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन्।
बाग्मती सफाइ महाअभियानको ३१५औँ हप्तामा बानेश्वर क्याम्पस अघिको नदी क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो। सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत १९ संस्थाका स्वयंसेवीको सक्रियता थियो। यस्तै आलोकनगर सफाइको १११ हप्ताको समूहसमेत बाग्मती सफाइमा सहभागी भएको जनाइएको छ।
बाग्मतीको तिलगंगा क्षेत्रको २१६औँ हप्ताको सफाइ पनि बानेश्वर क्याम्सअघिको क्षेत्रमै गरियो । सफाइमा महानगरपालिका–८ तिलगंगा महिला समूह र आदर्श सेवा नव जीवन केन्द्रको पनि सक्रियतामा थियो । यसैगरी गुह्येश्वरी माथिको वाग्मती सफाइको २७७ हप्तामा गोठाटार पुलमुनिको नदी किनारमा सफाइ गरियो । शनिबार उक्त क्षेत्रको सफाइ कार्यक्रमबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
रुद्रमती सफाइ अभियानको २६९औँ हप्तामा रातोपुल–सेतोपुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। सफाइमा काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्की सहित २०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको थियो । यसैगरी सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा १२५ औँ हप्ताको सफाइ गरियो।
यस्तै मनोहरा नदी सफाइको ११४औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ बालकुमारी क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। चक्रपथ सफाइ अभियानको १११औँ हप्तामा माछा पोखरीबाट गङ्गाहलसम्मको क्षेत्रमा सफाइ गरी नौ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । यस्तै आलोकनगर सफाइको १११औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।
महिला अभियानकर्मीको बाहुल्यता रहेको सफाइ अभियानले एकै स्थानबाट एक ट्रकभन्दा बढी गाँजा उखेलेको छ। चक्रपथ वाफल खण्ड सफाइको ९३औँ हप्तामा बुद्धपार्कबाट सानो भ¥याङसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।





