काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी साउन भित्र विष्णुमती किनारामा एक हजार देखि १५ सयसम्मको बिरुवा रोप्ने तयारी गरेको छ।
उक्त कार्यका लागि महानगरपालिकाले खोला किनाराहरू सफा गरेर तारबार गरिसकेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।
प्रवक्ता डंगोलका अनुसार महानगरले विष्णुमती करिडोरका साथै स्वयम्भू, पशुपति क्षेत्र तथा धोबीखोला किनारामा पनि वृक्षरोपण गर्न लागेको छ।
यो आर्थिक वर्षभित्रमा विष्णुपति करिडोरमा १५सय विरुवा रोपेर आगामी आर्थिक वर्षमा स्वयम्भू, पशुपति क्षेत्र, तथा धोबीखोलामा वृक्षरोपणको योजना बनाएको महानगरले कति रोप्ने भन्ने विषयमा भने केही समयपछि जानकारी दिने प्रवक्ता डंगोल बताउँछन्।
आर्थिक वर्ष २०७६/०७७को बजेट घोषणा नभएकाले काठमाडौँ भित्र वृक्षरोपण गर्ने योजनाहरू पूर्ण रुपले तयार भइ नसकेको महानगरको भनाइ छ।
विश्व वातावरण दिवस पछि वन मन्त्रालयसँग समन्व्य गरेर वृक्षरोपण कार्यलाई थप अगाडि बढाउने श्रेष्ठले जनाए। यसका साथै महानगरले काठमाडौँका सडक, खोला किनारा तथा विभिन्न धार्मिक स्थलहरूमा पनि वृक्षरोपण गर्ने जनाएको छ।
गतवर्ष महानगरले १० हजार बोटबिरुवा रोप्ने योजना सार्वजनिक गरेको थियो। उक्त योजना अनुसार बालाजु, सल्लाघारी लगायतका विभिन्न मठ–मन्दिर र खोला किनारामा गरी १० हजार विरुवा रोपिएको महानगरका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए।
आर्थिक वर्ष २०७५/२०७६मा वृक्षरोपणको जिम्मा लायन्स क्लब लगायतका विभिन्न गैर–सरकारी संघ–संस्थाहरूलाई दिइएकोमा यसपाली पनि सोही अनुरुप गरिने विभागका प्रमुख श्रेष्ठ बताउँछन्।





