काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
पश्चिमी न्यूनचापीय प्रणालीकोे प्रभावले मेघ गर्जन र हावाहुरीसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटी बताउँछिन्। उनका अनुसार अहिले पश्चिमी क्षेत्रमा पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा न्यूनचापीय प्रणालीले प्रभाव पारिरहेको छ। प्रिमनसुनको समय भएकाले यो गतिविधि लामो समयसम्म कायम रहन सक्दैन।
आन राति देशका मध्य र पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भोली(शनिबार) देशका अधिकांश स्थानमा आंशिक बदली रही अपराह्नपछि पश्चिमी र मध्य भूभागका एक दुई स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ।
त्यसैगरी पर्सी(आइतबार) देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई देशका पूर्वी भूभागका केही स्थानमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३० दशमलव शून्य सेल्सियस छ। आज सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ४२ दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएको छ ।





