कैलाली– धनगढी उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालेको छ। उपमहानगर ३ भन्सारस्थित सडकमा पर्ने जग्गा मिचेर बनाएका दुईवटा घर र पर्खाल डोजर लगाएर भत्काइएको छ।
यसअघि धनगढी उप–महानगरपालिका मेयर नृप वडले सडकमा पर्ने संरचना आफैँ भत्काउने घर धनीलाई सम्मान गर्ने बताएका थिए। तर, सडक निर्माणमा अवरोध गर्न थालेपछि उपमानगरपालिकाले ती संरचना भत्काएकोे हो।
सडक क्षेत्र भित्र रहेका निजी संरचना भत्काउन धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, वडा नं ३ का वडा अध्यक्ष बलबहादुर ऐर लगायत वडाका जनप्रतिनिधिहरू उपस्थित थियो।
सडक क्षेत्र कब्जा गरेर बनाएका निजी संरचना हटाउन पटक–पटक अनुरोध गर्दा पनि अटेरी गरेका कारण उपमहानगरपालिकाले कठोर निर्णय लिनु परेको नगर प्रमुख वड बताउँछन्।
धनगढी उप–महानगरपालिका वडा नं ३ का अध्यक्ष बलबहादुर ऐरले भन्सारस्थित चक्रपथ निर्माणमा अवरोध गर्ने स्थानीय गोकर्ण पौडेलको घर र पर्खाल डोजरको प्रयोग गरेर भत्काएको बताए । त्यसै गरी बुधवार नै त्रिनगर भन्सार कार्यालयको चेकजाँच भवनको आधाभाग त्यहाँका प्रमुखको स्वीकृतिमा भत्काइएको वडा अध्यक्ष ऐरको भनाइ छ।





