काठमाडौँ– चक्रपथ सुधार आयोजना अन्तर्गतको कलंकी –महाराजगञ्ज सडक निर्माणको काम अन्योलमा परेको छ।
पहिलो चरणमा कोटेश्वर–कलंकी सडक निर्माण सम्पन्न भएपनि कंलकी–गोंगबु– महाराजगञ्ज सडकको काम भने अन्योलमा परेको हो।
उक्त सडक खण्ड निर्माण जिम्मा लिएको चिनियाँ टोलीले सडकको डिजाइन तथा अन्य विषयमा स्पष्ट नपारेकाले निर्माणमा अन्योलता छाएको आयोजनाका प्रवक्ता निराजन शर्मा अर्याल बताउँछन्।

‘चिनियाँ प्राविधिक टोलीले सडकको प्रारम्भिक इन्जिनियरिङ डिजाइन सडक विभागलाई बुझाउनु पर्ने हो,’ उनले भने, ‘डिजाइन कहिले तयार हुन्छ भन्ने नै स्पष्ट छैन।’सडकको डिजाइन तयार नभएकाले निर्माण कार्य कहिलेबाट शुरु हुन्छ भन्न नसकिने उनको भनाइ छ।
तर, नेपाल सरकारले विस्तारका लागि आवश्यक जग्गाा अधिग्रहण र संरचनाहरू भत्काउने कार्यमा तदारुकता नदेखाएको चिनियाँ पक्षको भनाइ छ। यसका साथै अन्य सरकारी प्रक्रियाहरू झन्झटिलो भएको गुनासो समेत चिनियाँ पक्षले गरेको छ। नेपाली पक्ष भने चक्रपथ विस्तारको लागि सबैभन्दा पहिला प्रारम्भिक डिजाइन तयार हुनुपर्ने अडानमा छ। नेपाली अधिकारीहरू सो खण्डको प्रारम्भिक डिजाइन कुरेर बसेका छन् भने चिनियाँ पक्षले परियोजना सहज रुपमा अगाडि बढाउन अधिग्रहण लगायतका समस्याहरू पहिला हल हुनुपर्ने बताउँदै अाएकाे छ।
यस विषयलाई सम्बोधन गर्नका लागि दुवै पक्षबीच निरन्तर कुराकानी भएपनि टुंगो लाग्न सकेको छैन। चिनियाँ पक्षले अक्टोवर २०१८भित्र नै कलंकीदेखि महाराजगन्जसम्मको डिजाइन उपलब्ध गराउने बताएको थियो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पञ्चवर्षीय योजना अन्तर्गत २०७३ देखि २०७८ सम्म चक्रपथ सडकखण्ड निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ।
चीन सरकारको सहयोगमा सन् १९७०को दशकमा निर्माण भएको चक्रपथको स्तरोन्नतिका लागि सन् २०१२ डिसेम्बरमा सहमति भएको थियो । सोही सम्झौता आनुसार अहिले चक्रपथ सडक विस्तारको कामहरू भइरहेको छ।
पहिलो चरणमा कलंकी–कोटेश्वर सडकको निर्माण सम्पन्न भइसकेको छ। चक्रपथको दोश्रो चरण पछि तेश्रो चरण अन्तर्गतको महाराजगञ्ज–कोटेश्वर सडक पनि चिनियाँ टोलीले नै निर्माण गर्ने सम्झौता भएको आयोजनाका प्रवक्ता अर्याल बताउँछन्।





