काठमाडौँ – निर्माणको अन्तिम चरणमा पुगेर रोकिएको वहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाकोे बाँकी काम तत्कालै सुचारु गर्न सरकारले मेलम्ची खानेपानी आयोजनालाई जिम्मा दिएको छ।
६ जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले मेलम्चीको बाँकी काम आयोजनालाई नै जिम्मा लगाउने निर्णय गरेको हो।
उक्त आयोजनाको निर्माण गरिरहेको इटालियन ठेकेदार कम्पनी (सीएमसी)ले काम बीचैमा छाडेर गएपछि अन्योलमा परेको मेलम्चीको बाँकी काम आयोजनालाई जिम्मा लगाउँदै बैठकले थप काम उपयुक्त र व्यवस्थित तवरले गर्न समेत निर्देशन दिएको छ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मेलम्ची खानेपानी आयोजना त्यतिकै रोकिनु चिन्ताको विषय भएको बताए। साथै उनले मेलम्चीको बाँकी काम मेलम्ची खानेपानी आयोजनालाई नै जिम्मा दिएको जनाए।
‘मेलम्ची खानेपानी आयोजनाको काम ठप्प हुँदा सरकारमाथि पनि विभिन्न प्रश्न उठिरहेका थिए,’ उनले भने, ‘सरकार यो विषयमा अत्यन्तै चिन्तित छ, अब बाँकी काम मेलम्ची खानेपानी आयोजनाले नै उपयुक्त ढंगबाट गर्ने निर्णय ६ गतेको बैठकले गरेको छ।’
आयोजनाले बाँकी कामको जिम्मा पाएसँगै कसरी अगाडि बढ्ने भन्ने विषयमा केही दिनमै योजना सार्वजनिक गर्ने बताएको छ।





