काठमाडौँ – दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियो ‘रेडियो सगरमाथा एफ एम १०२.४ मेगाहर्ज’ले आफ्नो २३ वार्षिकोत्सव मनाएको छ।
२०५४ साल जेठ ९ गतेबाट शुरु भएको हो रेडियो सगरमाथा २२ वर्ष पुरा भइ २३ वर्ष लागेको खुशीयालीमा रेडियो कार्य सञ्चालन समितिका अध्यक्ष कसमस विश्वकर्माले सन्देश दिँदै दुई घण्टाको प्रशारणबाट शुरु भएको रेडियो १६ घण्टासम्म चलेको बताए।
आफ्नो सन्देशमा उनले भनेका छन्, अहिले सोच्दा लाग्छ समय बलवान छ । समय परिवर्तनशिल पनि छ। समयले अहिले २२ वर्ष काटेको छ। विभिन्न आरोह अवरोह र चुनौतीहरूलाई पार गर्दै अहिले रेडियो सगरमाथाले आफ्नो पहिचान बलियो बनाएको छ। दक्षिण एसिया कै पहिलो सामुदायिक रेडियोको रुपमा स्थापना भएको रेडियो सगरमाथा आफैँमा एउटा इतिहास हो। नेपालमा सामुदायिक रेडियोको इतिहास शुरु गरेको रेडियो सगरमाथा पछि अहिले देशमा ३५० भन्दा बढी समुदायमा आधारित रेडियोहरू सञ्चालित छन्। रेडियो संचारको यो व्यापक वृद्धि र विकासमा रेडियो सगरमाथाको भूमिका अहम रहेको कुरामा दुई मत छैन्। देशका अधिकांस सामुदायिक रेडियो स्टेसनहरू रेडियो सगरमाथाको सहयोग मै स्थापना भएका हुन्।
यसमा नेपाल वातावरण पत्रकार समुहद्वारा सन्चालित रेडियो सगरमाथाको मात्र होइन, समूह अन्तर्गत नै सञ्चालित सामुदायिक रेडियो सहयोग केन्द्रको भूमिका सबैभन्दा महत्वपूर्ण रह्यो। नेपालमा सामुदायिक रेडियोहरूको विकासमा यो केन्द्रले प्राविधिक सहयोग मात्र पुर्याएन, यसले देशभरीका रेडियो पत्रकार तथा कार्यक्रम उत्पादकहरू उत्पादन गर्दै तिनको क्षमता वृद्धि गर्ने काममा पनि अहम भूमिका खेलेकै हो।
समय परिवर्तनसँगै रेडियो सगरमाथा पनि परिवर्तन हुँदै आएको छ । यसमा बज्ने कार्यक्रमहरू पनि समय अनुसार परिवर्तन भई नै रहेको छ । समय अनुसार परिवर्तन भएन र कार्यक्रममा परिमार्जन भएन भने रेडियोको स्रोतामा कमी आउँछ भन्ने कुरा हामीले राम्रोसँग बुझेका छौं । त्यसैले पनि अहिले हामी बद्लिंदो परिस्थिति अनुसार र देशको आवश्यकता अनुसार रेडियोको विषयबस्तुमा परिवर्तन गर्नुपर्छ भन्ने महसुस गरिरहेका छौं। विभिन्न समयमा वातावरण र दीगो विकासका मुद्दाहरुलाई सार्वजनिक गर्दै आम जन चेतना ल्याउने कुरामा रेडियो सगरमाथाले सँधै नेतृत्वदायी भूमिका खेल्दै आएको छ। र आउने दिनमा पनि वातावरण र दीगो बिकासका मुद्दाहरूलाई व्यापक रुपमा उठाउँदै देशको नीति निर्माणको तहमा सहयोग पुर्याउने कामलाई अझ सशक्त बनाउनु पर्छ भन्ने कुरा हामीलाई महसुस भएको छ ।
त्यसैले आगामी दिनमा हाम्रा मुख्य मुद्दाहरूलाई सशक्त रुपमा उठाउने प्रण पनि गर्छौ्र । काठमाडौँ उपत्यकाको आफ्नै रेडियो रुपमा रेडियो सगरमाथालाई साँच्चिकै सामुदायिक रेडियोको रुपमा सञ्चालन गर्नु पर्छ भन्ने हामीलाई लागेको छ । समुदायका मुद्दा, समस्या र समाधानका उपायहरूलाई सशक्त रुपमा उठाउँदै रेडियो सगरमाथाका कार्यक्रमहरूलाई परिमार्जन गर्नु पर्ने अहिलेको आवश्यक्ता हो।
समुदायमा आधारित रहेर रेडियो सञ्चालन गर्नु आफैँमा त्यति सजिलो काम होइन। अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकका लागि रेडियो सगरमाथा सधैँ लाग्दै आएको छ। आउने दिनमा पनि स्वतन्त्र पत्रकारिताको बिकासमा निरन्तर रुपले आवाज उठाइ नै रहने छौँ।

रेडियो सगरमाथाको २२ वर्ष लामो अवधिमा यसमा संलग्न सबै सहकर्मी साथीहरूलाई सम्झन चाहन्छु। रेडियो सगरमाथाका उत्पादनहरू अहिले देशका प्रवृद्ध रेडियो पत्रकारका रुपमा काम गरिरहेको देख्दा गर्व महसुस हुन्छ ।
रेडियो सगरमाथाको स्थापनामा अहम भूमिका निर्वाह गर्ने हाम्रा अग्रजहरू प्रति हामी नतमस्तक छौँ। उनीहरूको प्रयत्नले आज २२ वर्ष पुरा गर्दै गर्दा आउने दिनहरूमा उनीहरूको सपनालाई साकार पार्न रेडियो सगरमाथा निरन्तर रुपमा लागि नै रहने छ।
र अन्तमा, रेडियो सगरमाथाको सञ्चालनमा सहयोग पुराउने सबै दातृ निकाय, विज्ञापनदाता लगायत सम्पूर्ण सहकर्मी साथीहरू र स्रोताहरूमा पुनः शुभकामना व्यक्त गर्न चाहन्छु।






