जाजरकोटमा विश्वकै दुर्लभ गिद्धले चल्ला कोरल्यो

जाजरकोट – विश्वमै दुर्लभ मानिएको सुन गिद्ध र सेतो गिद्धले जाजरकोटमा चल्ला कोरलेको छ। नलगाड नगरपालिका–५ पोखराको महादेवस्थान जङ्गलको सल्ली रूखमा लगाएको गुँडमा गिद्धले चल्ला कोरलेको हो।

त्यस्तै विश्वमै दुर्लभ तथा लोपोन्मुख मानिएको सेतो गिद्धले बारेकोट गाउँपालिका–९ काप्तीको जङ्गलमा गुँड लगाएर चल्ला कोरलेको पक्षी संरक्षण सङ्घका केन्द्रीय सदस्य एवं पशु प्राविधिक गोविन्दबहादुर सिंहले बताए।

दुई÷तीन वर्षअघि सुन गिद्धले सोही जङ्गलमा अण्डा काढे पनि चल्ला भने कोरल्न सकेको थिएन। स्थानीयवासीका अनुसार सुन गिद्धले वर्षको एकपटक मात्र बच्चा कोरल्छ। जथाभावी वन फँडानी, आगलागी वन अतिक्रमणलगायतका कारण यसको बासस्थान नास भई सङ्कटमा परेको छ।

विश्वमै सङ्कटासन्ना अवस्थामा पुगेका दुर्लभ गिद्धले चल्ला कोरल्नु सुखद खबर भएको पक्षी संरक्षणकर्मी सिंहले जानकारी दिए। जाजरकोटमा सुन गिद्ध, सेतो गिद्ध, हिमाली गिद्ध र हाडफोर गिद्धको बासस्थान रहेको चराविद् बद्री बरालले बताए। एक अध्ययनका अनुसार जाजरकोटमा हिमाली गिद्ध ७५, हाडफोर गिद्ध छ, सुन गिद्ध दुई र सेतो गिद्ध चार फेला परेका छन् ।

पछिल्लो समय पशु उपचारमा प्रयोग गरिएको डाइक्लोफेनेक औषधिका कारण गिद्ध लोप हुने अवस्थामा पुगेका छन् । यस जिल्लामा यो औषधि अन्य जिल्लाको तुलनामा कम प्रयोग हुने भएकाले यहाँ गिद्धको बासस्थानको दृष्टिकोणले उपयुक्त देखिएको चराविद् बरालको भनाइ छ।

सेतो गिद्धले समुद्री सतहबाट एक हजार ५०० मिटर उचाइमा रहेको जङ्गलमा चल्ला कोरलेको हो। गत फागुन पहिलो साता अण्डा पारेको सुन गिद्धले वैशाखमा चल्ला कोरलेको उनले जानकारी दिए। सुन गिद्धको बासस्थान रहेको महादेवस्थान गोठथात जङ्गलमा विगत पाँच वर्षदेखि अध्ययनका लागि महीनामा तीनपटक अध्ययन टोली गइरहेको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार