महेन्द्रनगर – शुक्लाफाँटा नगरपालिका वडा नंं. ८ फुलेलीका स्थानीयका घर नजिकै सार्वजनिक धारा बने पनि उनीहरू भने अझै पनि हेण्ड पम्पकै आर्सेनिक र आइरनयुक्त पानी पिउन बध्य छन्।
फुलेली खानेपानी आयोजना निर्माण भएको २४ वर्ष बितेको छ। आयोजना निर्माण भएपछि २ पटक मर्मतसमेत भएको छ। तर, अझै पनि धारामा पानी आइपुगेको छैन्। आयोजनाको २ पटक उद्घाटन गरे पनि धारामा एक थोपा पानी नआएको स्थानीय लक्ष्मीदत्त जोशीले बताइन्। खानेपानी आयोजना निर्माण भएपछि सहज रूपमा पानी पाउने आशामा थियौँ,’ उनले भनिन्, ‘धारामा पानी नआउँदै उद्घाटन गरियो। पानी पछि आउँछ भन्थे। अहिलेसम्म पानी आएको छैन्।’
शुद्ध खानेपानी उपलब्ध नहुँदा हेण्ड पम्पको असुरक्षित पानी पिउनु परेको उनले बताइन्। वि.सं २०५२ सालमा स्थापना भएको खानेपानी आयोजना निर्माणमा ८३ लाख रकम खर्च गरिएको थियो। धारापानीमा रहेको खानेपानीको बाँध बाढीले बगाए पछि पुनः ४० लाख खर्च गरेर गिठेमा बाँध बनाई पानी ल्याउने भन्दै कार्य अगाडि बढाइए पनि बस्तीसम्म पानी पुग्न सकेन।
‘खानेपानी आयोजना मर्मतका लागि बर्सेनी बजेट आउँछ भन्ने सुनिएको छ। त्यो कुन ठाउँमा खर्च हुन्छ थाहा हुँदैन,’ स्थानीय पवन हमालले भने। फुलेली चुरे नजिकैको ठाउँ भएकाले हेण्ड पम्प गाड्नसमेत धेरै रकम खर्च गर्नु पर्दछ। आर्थिक रूपमा विपन्न परिवारले हेण्डपम्पसमेत गाड्न नसक्दा खानेपानीका लागि अरूकै भर पर्नुपर्ने बाध्यता छ। ‘खानेपानी आयोजनाका पाइप गाड्न थालेपछि निकै उत्साहित थियौँ,’ स्थानीय बिजुलीदेवी धामीले भनिन्,’ ‘घर नजिकै धारा बनाइँदा सहज रूपमा खानेपानी पाउने भयौँ भनेर खुसी थियौँ । धारा निर्माण भएको वर्षौँ बिते पनि पानी नपाउँदा निराशा भएका छौँ।’
फुलेली खानेपानी आयोजना निर्माण समितिको म्याद सकिएको लामो समय भइसकेको स्थानीयको भनाइ छ। उक्त क्षेत्रका वडाअध्यक्ष बहादुर सिंह महराले मर्मतका लागि बर्सेनी आउने बजेटबारे आफूले पनि सोधखोज गरिरहेको बताए। ‘मर्मतका लागि आएको बजेट दुरुपयोग भएको रहेछ भने कार्वाही प्रकृया अगाडि बढाउन तत्पर छु,’ उनले भने।
मर्मतका नाममा रकमको दुरुपयोग बढी हुने, बाढी पहिरोको जोखिम पनि बढ्ने भएकाले विकल्पमा भूमिगत खानेपानी आयोजना निर्माणको कार्यअगाडि बढाइएको अध्यक्ष महरा बताउँछन्। ‘हामीले भूमिगत खानेपानी आयोजनालाई प्राथमिकता दिएका छौँ,’ वडाका विभिन्न स्थानमा खानेपानी योजना निर्माण भइरहेका छन्,’ उनले भने।





