कैलाली– डोटीका २० सामुदायिक वनमा डढेलो लागेको छ। एक साताभित्र मात्रै २० सामुदायिक वनमा फैलिएको डढेलोले १२ सय हेक्टर वनमा क्षति पु¥याएको डिभिजन वन कार्यालय डोटीले जनाएको छ।
डिभिजन वन कार्यालय डोटीका रेन्जर सुरेश रोकायाका अनुसार २० मध्ये तीन सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आउन नसकेको हो। ती सामुदायिक वनमा नेपाली सेना र प्रहरीको सहयोगमा डढेलो नियन्त्रणको प्रयास भइरहेको उनले बताए।
‘एक सातामा मात्रै २० सामुदायिक वनमा आगलागी भएको छ,’ उनले भने, ‘आगलागी हुँदा वन्यजन्तुको वासस्थानमा असर परेको छ। तर,भौतिक क्षति भएको पाएका छैनौँ।’
डोटीमा ३ सय ९७ सामुदायिक र २ सय १५ कबुलियत वनहरू रहेका छन्। बढी सल्लाका रुख भएको वनमा लागलागी हुँदा साना बुट्यान र बिरुवा सखाप भएको उनले बताए।
डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा कूल भू–भागको ६५ प्रतिशतभन्दा बढी क्षेत्रफल वनजङ्गलले ओगटेको छ।
मानवीय लापवाहीका कारण प्रत्येक वर्ष वन क्षेत्रमा आगलागी हुँदा लाखौँको सङ्ख्यामा बोटबिरुवा सखाप हुने तथा वन्यजन्तुले वासस्थान परिवर्तन गर्ने समस्या बढ्दो छ। वन क्षेत्रमा आगो लगाउनेलाई कुनै पनि कारबाही नहुँदा सुख्खायाममा आगलागीका घटना बढ्दो गएको छ।
वन ऐन २०४९ ले वन क्षेत्रमा आगो लगाउनेलाई १० हजार जरिवाना र एक वर्ष कैदको व्यवस्था गरेको भए पनि यो कसुरमा अहिलेसम्म कसैको नाममा मुद्दा दर्ता भएको छैन। यस तथ्यले पनि डढेलो जस्तो विनाशकारी प्रकोपमा संलग्नहरू कानुनी दायरामा नआएको देखाउँछ।





