बोन्साई ट्री : सानो रूख, ठूलो महत्व

काठमाडौँ– वातावरण र मानव स्वास्थ्यका लागि निकै फलदायी मानिएको बोन्साई ट्रीका बारेमा सर्वसाधारणमा त्यति जानकारी छैन्।

विशेषतः मानव स्वास्थ्यसँगै अध्यात्म र वातावरणका दृष्टिले यो निकै उपयोगी रहेको विभिन्न अध्ययनहरूले देखाएका छन्। यदि यस विषयमा जनमानसमा पर्याप्त जानकारी हुने हो भने कङ्क्रिटले भरिएको काठमाडाँैको वातावरण स्वच्छ बनाउन यसले ठूलै टेवा दिनसक्छ । काठमाडौैँ बानेश्वर निवासी पञ्कज कुँवर भन्छन्, ‘मलाई बोन्साई ट्रीका बारेमा केही पनि थाहा छैन।’

उनी मात्र होइन, कोटेश्वरका राजु श्रेष्ठ आफूले अहिलेसम्म बोन्साई ट्री नदेखेको बताउँछन्। अन्य देशहरू जस्तै जापान, चीन, अस्ट्रेलिया लगायतका मुलुकहरूमा भने यो रुख निकै चर्चित छ तर, नेपालमा भने यसका फाइदा र उपयोगिताका बारेमा न्यून जानकारी छ। काठमाडाँैमा वृक्षरोपणका लागि स्थानको अभाव भएकाले अहिले इच्छा भए पनि रुख रोप्ने ठाउँ छैन त्यसैले शहरी क्षेत्रमा स्वच्छ हावा पाउन निकै कठिन छ । घरभित्र रहेको सानो स्थानमा पनि यो विरुवा हुर्काउन सकिन्छ जसले हाम्रो वरपरकोे वातावरणलाई स्वच्छ र निर्मल तुल्याउन ठूलो भूमिका खेल्न सक्छ । तर, एकदमै कम सर्वसाधारणलाई मात्र यस विषयमा जानकारी छ।

यो रुखको जानकारी भएकामध्ये एक हुन् बुढानिलकण्ठ निवासी महेश के.सी । उनले कपनमा झण्डै २०० वटा बोन्साईका बिरुवा लगाएका छन् । ‘बिरुवाप्रतिको प्रेम र मोहले मैले यो विरुवाको सुरुवात गरेको हुँ,’ के.सी भन्छन् । यदि केसीले लिएको पहललाई हामीले अनुशरण गर्ने हो भने काठमाडौँ जस्तो भीडभाड भएको शहरमा घरभित्रै पनि स्वच्छ र सफा वातावरण पाउन सकिन्छ।

बोन्साई सजिलै घरभित्र उमार्न सकिन्छ र यसले मानव स्वास्थ्यमा देखापर्ने केही समस्याहरू समेत समाधान गर्ने विभिन्न अध्ययनले देखाएको छ । यति मात्र होइन यसले हामीलाई मानसिक र शारीरिक थकानबाट राहत पनि दिन्छ । बोन्साई ट्रीलाई स्याहार–सुसार गर्न बढी समय लाग्ने भएकाले मानिसमा धैर्यता बढाउने र शान्त स्वभावको समेत विकास गर्ने विभिन्न अध्ययनको निचोड छ । यो बिरुवा प्रकृतिको एउटा सुन्दर उपहार भएकाले बोन्साई ट्री प्रतिको संलग्नताले मानसिक तनाव पनि कम हुन्छ । त्यति मात्र नभई प्रदूषित धुलो, हावा र धुवाँले निम्त्याएका रोग जस्तै रुघा–खोकी, घाँटी दुख्ने समस्या र थकानलाई हटाइ आराम दिने गर्छ।

बोन्साई ट्री धेरै किसिमका हुन्छन् र तिनिहरूलाई त्यसै प्रकारको स्याहार चाहिन्छ । बोटअनुसारको स्याहार गर्नुपर्ने भएकाले मानिसको सोच्ने क्षमता र ध्यान केन्द्रित गर्न पनि मद्दत पुर्‍याउँछ। सबैभन्दा महत्वपूर्ण कार्य बोन्साई ट्रीले बाहिरबाट भित्रिने प्रदूषित हावालाई शुद्ध हावामा परिवर्तन गरिदिन्छ । यसरी बोन्साई ट्री लगाउँदा घरभित्रको वातावरण हरियाली, स्वच्छ र रमणीय हुने गर्दछ ।

बोन्साई ट्रीलाई हप्तामा एक पटक एउटा पानी भरेको भाडामा डुबाउने र सारा पानी माटोले सोसपछि फेरि पहिलेकै ठाउँमा राखिदिनुपर्छ। बोन्साई ट्रीलाई घाम सिधै नपर्ने छायाँयुक्त ठाउँमा राख्नुपर्दछ भने हरेक बोन्साई ट्रीका लागि अलग किसिमको माटोकोे आवश्यकता पर्छ । त्यसैले यसमा बोन्साइको प्रकार अनुसारको राम्रो माटो प्रयोग गर्नुपर्छ। बोन्साई ट्रीलाई १/३ लम्बाई भएको चौडा भाडामा राख्नुपर्दछ र त्यसको गहिराई रुख बराबरको हुनुपर्दछ। बोन्साई ट्री का हाँगा र पातहरू स–साना हुने भएकाले ट्रिमिङ्ग गर्दा निकै ध्यान दिनुपर्छ । यसलाई सानो, सुहाउँदो र चाहिएको आकारमा ट्रिमिङ्ग गर्न सकिन्छ।

बोन्साई ट्री ट्रिमिङ्गका लागि तिखा औजारहरूको आवश्यक्ता पर्ने गर्दछ जस्तै कैँची, लिफ ट्रिमर, हेम्प ब्रसलगायत अन्यका औजार। करिब १२ सय वर्षअगाडि जापानबाट प्रचलनमा आएको यो बोन्साई ट्री चीनको पेन्जिङ्मा उत्पन्न भएको हो। बोन्साईलाई लघुवृक्ष वाटिका पनि भनिन्छ। बोन्साई खासगरी चीनको प्राचीन कला वागवानीबाट प्रभावित भएर जापानको जेन बुद्धिजम अन्तर्गत विकसित भएको हो। बोन्साई उमार्नुको उद्देश्य भनेको यथार्थवादी ढङ्गले प्रकृतिको प्रतिनिधित्व गर्नु हो।

ताजा समाचार

सम्बन्धित समाचार