डडेल्धुराका अधिकांश खानेपानीमा कोलिफर्म

कैलाली–डडेल्धुरामा सञ्चालित अधिकांश खानेपानी योजनामा कोलिफर्म भेटिएको छ। अमरगढी नगरपालिकाका विभिन्न खानेपानी योजनाहरूको पानी परीक्षण गर्दा दिसामा हुने कीटाणु (कोलिफर्म) भेटिएको हो।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कैलाली अन्तर्गतको प्रदेशस्तरीय खानेपानी परीक्षण प्रयोगशालामा पानीको नमुना परीक्षण गर्दा कोलिफर्म भेटिएको प्रयोगशालाका केमिस्ट अधिकृत कृष्ण पौडेलले जानकारी दिए।

अमरगढी स्वास्थ्य शाखाका अनुसार अमरगढी नगरपालिकाभित्र रहेका १० खानेपानी आयोजनाबाट धारामा आउने अधिकांश ठाउँको पानीमा ‘कोलिफर्म’को मात्रा अत्यधिक रहेको भेटिएको हो । पानी परीक्षणका लागि प्रदेशस्तरीय खानेपानी परीक्षण प्रयोगशाला धनगढीमा पठाइएको थियो।

केमिस्ट पौडेलका अनुसार अमरगढी नगरपालिका–१० मा रहेको स्याउले खानेपानी योजनामा मात्रै १०० युनिट, मुसे खानेपानी योजनामा ८२ युनिट, ढाँडखोला मूलमा ८१ युनिट, स्याउले खानेपानी योजनामा ७२ युनिट, र सहश्रलिङ्ग खानेपानी योजनामा ५५ युनिट कोलिर्फ भेटिएको हो।

उनका अनुसार सबैभन्दा कम सदरमुकामको खलङ्गा खानेपानी उपभोक्ता समितिद्वारा सञ्चालित खानेपानी योजनामा एक युनिट कोलिफर्म भेटिएको छ।

यी खानेपानी योजनाबाट सञ्चालित पानी खान अयोग्य भएको अमरगढी नगरपालिका स्वास्थ्य शाखा सह–संयोजक गणेश विष्टले जानकारी दिए।

घटाल खानेपानी योजना, दुधकाडी खानेपानी योजना, पोखरा खानेपानी योजना, उग्रतारा खानेपानी योजनाबाट वितरण हुने पानी उमालेर मात्र पिउन स्वास्थ्य शाखा सह–संयोजक विष्टले दिए।

खानेपानीको व्यवस्था नहुँदा पहाडी क्षेत्रका बासिन्दाहरू प्रदूषित पानी खान बाध्य भएका छन्। कोलिफर्म भनेको जीवाणुहरूको समूह हो। यो जीवाणु पानी, माटो, मानिस वा तातो रगत भएका जनावरका दिसामा पाइन्छ। यो स्वास्थ्यका लागि हानिकार हुने पौडेल बताउँछन्।

प्रदेशस्तरीय खानेपानी परीक्षण प्रयोगशालामा पहाडी क्षेत्रको खानेपानीको नमुना परीक्षण गर्दा ९० प्रतिशतसम्म कोलिफर्म भेटिएको छ। डोटी, डडेल्धुरा, अछाम र बैतडी जिल्लामा खानेपानीको नमुना परीक्षण गर्दा मानव स्वास्थ्यका लागि हानिकारक ‘इकोलाइ कोलिफर्म’ भेटिएको प्रयोगशालाका केमिष्ट अधिकृत पौडेलेले बताए।

ताजा समाचार

सम्बन्धित समाचार