आहा ! मनै लोभ्याउने काठमाडौँको यो बगैँचा

काठमाडौँ – कंक्रिटको शहर काठमाडौंमा सफा र खुला ठाउँ भेट्टाउन निकै कठिन छ। भएका केही पार्क र बगैँचाको पनि राम्रो प्रबन्ध हुन सकेको छैन्। हामी यो प्रदूषण र कोलाहलबाट थोरै भएपनि राहत पाउने उपाय खोजिरहेका हुन्छौँ। त्यसैले भएका केही पार्क र बगैँचामा निकै भीडभाड देखिन्छ।


काठमाडौँको मुटु ठमेलमा अवस्थित स्वप्न बगैँचाले पछिल्लो समय धेरैलाई राहत दिएको छ। काठमाडौँको धुलोधुवाँबाट आजित भएर स्वच्छ हावामा रम्न स्वप्न बगैँचामा जानेको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ।

जाडोमा घाम ताप्न, गर्मीमा शितलता लिन, अध्ययन र पारिवारिक भेटघाट तथा आराम गर्न मानिसहरू यहाँ आउने गरेका छन्। काठमाडौँको अस्तव्यस्त शहरलाई छिचोल्दै प्राकृतिक दृश्यको अवलोकन गर्न भनेर आएकी कलङ्कीकी अप्पु अधिकारी त्यही बगैँचामा भेटिइन्। छोरीलाई साथमा लिएर हिँडेकी उनी काठमाडौँ बाहिरबाट आएका नन्द र भान्जीलाई पनि घुमाउने उत्कृष्ट ठाउँ भएकाले यहाँ आएको बताउँछिन्।


‘वातावरण प्रदूषणले आत्तिनेहरूको मन यहाँको ऐतिहासिक वास्तुकला र फूलहरूको मनोरम दृश्यले शान्त बनाउँछ,’ उनी भन्छिन्, ‘बच्चाहरूलाई घुमाउन कठमाडौँमा उपयुक्त स्थान नभएको अवस्थामा स्वप्न बगैंचाले भने ठूलो भूमिका खेलेको छ।’

स्वप्न बगैँचामा बच्चादेखि वृद्धसम्मका पर्यटकहरू रमाइरहेको देख्न सकिन्छ। पछिल्लो समय नवजोडी वा अन्य जोडीहरू घुमघामका लागि पनि स्वप्न बगैँचामै आउने गरेका छन्। जोडीहरूको बाक्लो उपस्थितिले पार्कभित्र हुने आपत्तिजनक क्रियाकलापहरूलाई रोक्न दिनभर गार्डहरू घुमाउने गरेको स्वप्न बगैँचा विकास समितिका प्रशासकीय अधिकृत दिमेश कर्माचार्य बताउँछन्।

स्वप्न बगैँचामा पहिलोपटक आएको बताउने सतुङ्लका रमेश सुनारको जोडी पनि यसको प्राकृतिक सुन्दरताबाट प्रभावित भएको बताउँछन्। ‘बाहिरको त्यस्तो धुलो धुवाँबाट आउँदा काठमाडौँमा यस्तो सुन्दर र सफा ठाउँ पनि रहेछ भन्ने आभास भयो,’ उनले भने, ‘जोडीहरूका लागि पनि अत्यन्तै रमणीय स्थल रहेछ।’

मौसम परिवर्तनका कारण पछिल्लो समय अत्यन्तै गर्मी भएको अनुभव काठमाडौँवासीले गर्न थालेका छन्। उनीहरू गर्मी छल्न विभिन्न उपायहरू अपनाइरहेका देखिन्छन्। त्यसमध्ये कतिपय भने स्वप्न बगैँचा परिसरभित्रको रमणीयता र शितलताभित्र रमाइरहेका देखिन्थे।


गर्मी छल्न भन्दै बगैँचामा छिरेका सविना खड्का, रश्मी गुरुङ र भेषमाया घले पनि एउटा कुनामा म्याट ओछ्याएर शितलताको अनुभूतिमा रमाउँदै गरेका देखिन्थे। ‘शान्त, हरियाली र खासै हल्ला नहुने भएकाले यहाँ आउँदा सोचाइमा सकरात्मक परिवर्तन आउने भएकाले स्वर्ग आएको जस्तो अनुभव भइरहेको छ,’ उनीहरू भन्छन्, ‘ऐतिहासिक संरचनाहरू नियाल्दा पनि एकदमै रमाइलो लाग्यो।’

स्वप्न बगैँचाको विकासका निम्ति सरकारी तहबाट सहयोग नभए तापनि समितिले नै पुनर्निर्माण तथा विकासका कार्यहरू गरिरहेको अधिकृत दिमेश कर्माचार्यले बताए। ‘सरकारी तहबाट बजेट उपलब्ध हुँदैन,’ उनले भने, ‘समितिको पहलमा नै बगैँचाको सम्पूर्ण व्यवस्थापन गर्ने भएकाले स्वायत्त तथा आत्मनिर्भर बनेका छौँ।’

कर्माचार्यका अनुसार, पार्किङ्सहित १३ रोपनी जग्गा ओगटेको स्वप्न बगैँचाले काठमाडौँभित्रको कोलाहलबाट आजित भएकाहरूलाई शान्त वातावरणको अनुभूति दिलाउँछ। ‘दक्षिण एसियाकै पृथक परिदृश्यले गर्दा स्वप्न बगैँचा विश्वमा नै परिचित छ,’ उनले भने, ‘राणाकालदेखि अहिलेसम्मको ऐतिहासिक अनुभव नियाल्न पनि मानिसहरूको भीड लाग्ने गरेको छ।’ अमेरिकाबाट प्रकाशित हुने न्यूयोर्क टाइम्सले २०१३ मा विश्वका २४ वटा भ्रमणीय स्थलको सूचीमा स्वप्न बगैँचालाई छनोट गरेको थियो।

बगैँचामा देश विदेशबाट सङ्कलन गरिएका दुर्लभ बोटबिरुवाहरूको संरक्षण पनि गरिएको छ। केशर शमशेरको पालादेखिको ‘भोटेचाँप’ को रुख सिंहदरबार र याे बगैँचामा मात्र रहेको कर्माचार्यले बताए । लालिगुँरासदेखि कमलसम्मका फूलहरू, विभिन्न प्रजातिका बोटविरुवाहरू, चराचुरुङ्गी तथा माछाहरूको पनि संरक्षण गर्दै आएको उनले जनाए।

बगैँचामा एकचोटी आएपछि दिनभरि बस्न सकिने सुविधा छ। उक्त बगैँचामा आराम गर्न आउने आगन्तुकलाई आफूसँग रहेका ३० देखि ४० वटा सिरानी र म्याट्रेस उपलब्ध गराउने यवस्था गरेको उनी बताउँछन्। बगैँचाभित्र इन्टरनेटको व्यवस्था पनि छ। पढ्ने उद्देश्यले आएकाहरूलाई नेटको आवश्यकता परेको खण्डमा प्रति घण्टा ५० रुपैयाँ लिने गरेको उनले बताए।


बगैँचामा सामान्य दिनमा दैनिक करिब ५०० र शनिबार तथा सार्वजनिक बिदाको दिन ७०० को हाराहारी पर्यटक भित्रने गर्छन्। जसमा आन्तिरिक पर्यटकलाई १०० तथा वाह्य पर्यटकलाई २०० रुपैयाँको टिकट रहेको छ। अक्टोबरदेखि जनबरीसम्ममा विदेशी पर्यटनको अत्याधिक चाप हुने गरेको उनी बताउँछन्। विद्यार्थीको हकमा छुट नभए तापनि १० वटा टिकटमा भने २५ प्रतिशत छुटको व्यवस्था गरिएको कर्माचार्यले जानकारी दिए।

स्वप्न बगैँचाको इतिहास

शास्त्रीय र ऐतिहासिक शैलीमा निर्माण गरिएको स्वप्न बगैँचा केशर शमशेर ज.व.राले युरोप भ्रमणको क्रममा त्यहाँका राजाको व्यक्तिगत बगैँचा घुमेपछि नेपाल आएर बनाएका थिए। सन् १९२० मा ६ वटा सदन वा आराम गृहको संयोजन गरी नेपालका ऋतुअनुसार नामकरण गरेको भए तापनि अहिले भने ३ वटामात्रै सदन (वसन्त, शरद र शिशिर) रहेको कर्माचार्य बताउँछन्।

प्रकृति र सूर्यबाट लाभ उठाउनका निम्ति बनाइएको बगैँचामा अवस्थित प्रत्येक सदन अगाडि ऋतुअनुसारका बोटविरुवा तथा फलफूल लगाइएको थियो, जसले हरेक ऋतुको आगमन भएको महसुस गर्न सकिन्थ्यो। बगैँचा निर्माण गर्दा सदन, झरना, पोखरी र युरोपियन शैलीका बरण्डा, परगोला र चराहरू बस्ने गुँडसमेत समावेश गरिएको थियो। बगैँचाभित्रका फूल, बुट्यान तथा रुखहरूको संयोजन र सदनहरूको वास्तुकलाले पनि छुट्टै सुन्दरता प्रदान गरिरहेको देखिन्छ।

केशर शमशेरको मृत्यृपछि यो बगैँचा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो। सन् २००० देखि सुरु गरिएको ऐतिहासिक तथा आधुनिक सुविधासहितको स्वप्न बगैँचा पुनर्निर्माणको काम, अष्ट्रियन सरकारको आर्थिक सहयोगमा इको हिमाल नामक गैरसरकारी संस्थाले ७ वर्ष लगाएर सम्पन्न गरेको थियो।

पुनर्निर्माणसँगै पुनर्जीवन पाएको उक्त बगैँचा काठमाडौँ जस्तो अस्तव्यस्त शहरमा शान्तिको स्वर्गका रूपमा परिचित हुन थालेको छ । वि.सं. २०७२ सालमा आएको विनाशकारी भूकम्पले बगैँचाको मुख्य भौतिक संरचनामा क्षति पुर्‍याएको भए तापनि हाल त्यसको पुनर्निर्माण भइसकेको कर्माचार्यले जानकारी दिए। नेपाल सरकार, शिक्षा मन्त्रालयअन्र्तगत शिक्षा सचिवको अध्यक्षतामा गठित ७ सदस्यीय स्वप्न बगैँचा विकास समितिले यसको प्रत्यक्ष व्यवस्थापन गर्दै आएको छ।

तस्वीरहरु स्वप्न बगैँचाको वेब साईट बाट

ताजा समाचार

सम्बन्धित समाचार