कैलाली–धनगढी उपमहानगरपालिका–१७ स्थित धुरझना मुक्त कमैया शिविरमा खानेपानी र सिचाईंको समस्या छ। तर, यहाँका स्थानीयहरूले पानीको जोहो गरी तरकारी खेती सुरु गरेका छन्।
शिविरकी बासमती चौधरीले एक कट्ठा जमिनमा भिँडी, करेला, काँक्रा रोपेकी छिन्। नल्का(ट्यूवेल)मा मोटर जोडेर तरकारीमा सिचाईं गर्दै आएकी चौधरीले पहिलो सिजन(फागुन–वैशाख)मै तीन क्वीन्टल तरकारी बिक्री गरिसकेकी छिन्।
‘तरकारी खेती राम्रो भयो, एक महिना अगाडिदेखि नै तरकारी फलिरहेको छ। घरमा हरियो ताजा तरकारी खाना पाउनुका साथै दुईचार रुपैयाँ अम्दानी पनि भएको छ,’ उनले भनिन्।
पहिलो सिजनमै १२ देखि १५ हजार सम्मको तरकारी बेचिसकेको बताउँदै उनले दोस्रो चरणका लागि पुनः रोपेको बताइन्।
सोही ठाउँको खुइतिदेवी चौधरी पनि ७ हजारको तरकारी बेचेको बताउँछिन्। उनी आफैँ मलजल गरेर हुर्काएको तरकारी धनगढी, बनबेहडा, सरौता लगायतको ठाउँमा साइकल लिएर बेच्न जान्छिन्।
त्यसैगरी जयतन्ती चौधरीको बारीमा पनि मज्जालै तरकारी फलेका छन्। उनीहरू पालैपालो तरकारी बेच्ने जाने गरेको जयतन्ती बताउँछिन्।
यी महिलाहरू तरकारी बेचेर विभिन्न समूहमा पैसा बचत गर्छन्। ‘पहिला सामान्य खर्चको लागि पनि श्रीमानको भर पर्नुपर्ने हुन्थ्यो, तरकारी बेच्न थालेपछि हाम्रो हातमा पनि पैसा आएको छ।’
उनीहरू भएको सानो जमिनमा पनि राम्रो तरकारी फलाएर आत्मनिर्भर हुन सकिन्छ भनेर लागेका छन्। तर, सुख्खायाम लागेसँगै जमिनमुनिको पानी पनि सुक्न थालेपछि सिचार्इंकाे अभाव हुन थालेको शिविरका मानिस बताउँछन्।
‘गाडेको नल्कामा पानी समेत आउन छाडेको छ। हामीले नयाँ नल्का समेत गाडेका छौँ। तर, त्यसमा पनि पानी कम आउँछ,’ जयतन्तीले भनिन्।
शिविरका मानिसहरूले धनगढी उपमहानगरपालिकासँग खानेपानी र सिचाईंको माग गरेका छन्। तर,उनीहरूको मागको सुनुवाइ नभएको उनीहरू बताउँछन्।





