धनगढी–जोशीपुर गाउँपालिकाले सफा र हरियाली गाउँपालिका बनाउने अभियान अन्तर्गत आफ्नो गाउँपालिकामा तीन हजार बिरुवा वितरण गरेकोे छ।
गाउँपालिकाभित्रको फोहोर व्यवस्थापन गर्नका साथै एक घर एक बिरुवा रोप्ने अभियान विगत एक वर्षदेखि सञ्चालन गरेको जोशीपुर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद शर्माले बताए।
गाउँपालिकाले विरुवा आफ्नै लागानीमा खरिद गरी प्रत्येका घर–घरमा वितरण गरेको उनले जनाए। बाँकी रहेका घरमा आगामी आर्थिक वर्षभित्र वितरण गरिने उनको भनाइ छ। उनका अनुसार गाउँपालिकाले बजार क्षेत्रको फोहोर असारभित्र व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ।
‘फोहोरमैला व्यवस्थापनका लागि ल्याण्डफिल साइटका लागि ठाउँ खोजी रहेका छौँ,’उनले भने,‘सकेसम्म यो आर्थिक वर्षभित्रै ल्याण्डफिल्ड साइटका लागि जमिनको टुंगो लाग्छ।’
हाल बस्ती नभएको ठाउँमा फोहोर व्यवस्थापन गर्दै आइएको छ। गाउँपालिकालाई असारभित्र सफा र स्वच्छ राख्न अभियान सञ्चालन गरेको उनले बताए। निमित्त प्रमुख शर्माले गाउँपालिका अन्तर्गतका व्यवसायी तथा स्थानीयलाई फोहोरफैला व्यवस्थापन गरी सरसफाइ अभियानमा सहयोग गर्न अनुरोध समेत गरेका छन्।





