महेन्द्रनगर – गर्मी र हावाहुरीसँगै कञ्चनपुरमा आगलागीका घटना बढे पनि सरोकारवाला निकायले भने नियन्त्रणको पर्याप्त तयारी गरेका छैनन्।
कञ्चनपुरका विभिन्न नगरपालिकासँग दमकल भए पनि जनशक्ति र आवश्यक उपकरणको अभावमा चलाउन सकिएको छैन। कतिपय नगरपालिकाले अग्नि नियन्त्रक अभावमा अन्य सवारीसाधनका चालकलाई दमकल जिम्मा लगाएका छन्।
तालिम प्राप्त जनशक्ति अभावमा अन्य सवारी साधनका चालकलाई खटाइने गरेको कञ्चनपुरका प्रमुख प्रशासकीय अधिकृत विसनसिंह थापाले बताए । ‘यहाँ तीन वर्षअघि दमकल खरिद गरिएको हो, ट्रिपर चालकले दमकलमा काम गरिरहेका छन्,’ उनले भने।
उनका अनुसार अग्नि नियन्त्रक अझै भर्ना गरिएको छैन। शुक्लाफाँटा नगरपालिकाले अग्नि नियन्त्रक राख्ने तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत थापा बताउँछन्। ‘अहिले यहाँको दमकल अव्यवस्थित रूपमा सञ्चालन भइरहेको छ। दमकल व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने।
शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र १ महिनाको अवधिमा १५ भन्दा बढी आगलागीका घटना भएको शुक्लाफाँटाका दमकल चालक गोविन्द साउदले बताए। ‘अहिले आगलागीका घटना बढेका छन्, आगलागीबाट हुने क्षति कम गर्न नगरमा छुट्टै युनिट गठन गर्नु आवश्यक छ । नगरपालिकामा दमकल चालक बस्ने व्यवस्था गर्नुपर्छ,’ उनले भने । सिलिन्डर ग्याँस र इन्धनका कारण हुने आगलागी नियन्त्रणमा प्रयोग हुने सिलिन्डर र त्यसमा कार्बनडाइअक्साइड भर्ने सीप यहाँका दमकल चालकमा नभएको साउदले जनाए ।
‘अहिलेसम्म एक पटक तालिम पाएका छौँ, भीमदत्तमा दमकल चलाउनेले तालिम दिइएको थियो, त्यसपछि तालिम पाएका छैनौं,’ उनले भने । यसैगरी ३ वर्षअघि दमकल खरिद गरेको कञ्चनपुरको महाकाली नगरपालिकाले पनि जेनतेन काम चलाइरहेको छ । दमकल खरिद गरे पनि तालिमप्राप्त जनशक्ति अभावमा नगरका अन्य सवारीसाधनका चालकलाई खटाइने गरेको नगरपालिकाका सूचना अधिकारी रघुनाथ भट्टले बताए ।
‘ट्रिपरकै चालक र ट्याक्टर चालकले दमकलको पनि काम गरिरहेका छन,’ उनले भने, ‘नगरपालिकाले नयाँ जनशक्ति भर्ना गर्ने विषयमा छलफल गरिरहेको छ। त्यसपछि उनीहरूलाई तालिम तथा अन्य उपकरण खरिद गरिनेछ।’ दमकल सञ्चालनका लागि छुट्टै युनिट गठन गरिने उनले बताए। ‘दमकल सञ्चालनका लागि छुट्टै युनिटको आवश्यकता छ। छुट्टै युनिट नहुँदा आगलागीबाट बढी क्षति हुने गरेको छ,’ उनले भने,‘ रातिको समयमा आगलागी भयो भने बढी समस्या हुने गरको छ, दमकल चालक घरमा हुन्छन्, घरबाट आएर घटना स्थल पुग्दासम्म धेरै क्षति हुन्छ।’
जिल्लाको पुरानो नगरपालिका भीमदत्तसँग ३ वटा दमकल छन्। छुट्टै वारुण यन्त्र शाखा पनि छ। तर, कर्मचारीले अझै प्राविधिक ज्ञान र सीप पाएका छैनन् । ‘हामी नगरपालिकामा दमकल आएदेखि नै काम गरिरहेका छौं,’ भीमदत्तको वारुण यन्त्र शाखा इन्चार्जसमेत रहेका चालक भोजराज पनेरूले भने, ‘तर, अहिलेसम्म आफ्नै सीप र अनुभवले काम गरिरहेका छौं, नयाँ प्रविधि र त्यसबारे जानकारी छैन ।’ उनी सिलिन्डर ग्याँस र इन्धनका कारण हुने आगलागी नियन्त्रणमा प्रयोग हुने सिलिन्डर र त्यसमा कार्बनडाइअक्साइड भर्न सक्ने सीप आफूहरू कसैमा नभएको गुनासाे गर्छन्।
भीमदत्तको वारुण यन्त्र शाखामा २ चालकसहित ८ जनाको टोली छ । तर, उनीहरूमध्ये कसैले पनि कार्बनडाइअक्साइड भर्न सक्दैनन् । ‘त्यही भएर भरेका सिलिन्डर मगाउने गर्छाैं,’ पनेरूले भने, ‘यसबारे तालिम नपाउँदा समस्या भएको छ ।’
भीमदत्त नगरपालिकामा २०५१ देखि नै दमकल सेवा सुरु भएको हो। कतिपय नगरपालिकासँग अझै पनि दमकल छैन्। कञ्चनपुरका ९ स्थानीय तहमध्ये ५ स्थानीय तहमा अझै दमकल छैनन्। कञ्चनपुरको बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी र बेलडाँडी गाउँपालिकामा दमकल छैन। स्थानीय सरकार सञ्चालन ऐनले अनिवार्य दमकल खरिद गनुपर्ने भने पनि यहाँका स्थानीय तहले चासो दिएका छैनन्। नगरपालिकाका दमकल आगलागी भएको क्षेत्रमा समयमा नपुग्ने गरेको सर्वसाधारणको गुनासो छ।





