मेलम्चीको काम जतिसक्दो चाँडो अघि बढाउन संसदीय समितिको निर्देशन

काठमाडौँ– संसदको विकास तथा प्रविधि समितिले रोकिएको मेलम्ची खानेपानी आयोजनाकोे निर्माण कार्य तत्काल अगाडि बढाउन खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ।

बुधबार बसेको समितिको बैठकले मेलम्ची खानेपानी आयोजना नागरिकको चासो र चिन्ताको विषय भएकाले तत्काल काम अगाडि बढाइ समितिलाई जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएको हो।

समितिले खानेपानीमा देखिएको आर्सेनिक प्रदूषणको समस्यालाई दीगो रुपमा समाधान गर्न एवं सुख्खाग्रस्त क्षेत्रको खानेपानी सेवा समयसीमा भित्रै सम्पन्न गर्न पनि निर्देशन गरेको छ।

मन्त्रालयलाई भूकम्पबाट क्षति पुगेका खानेपानी आयोजनाहरू शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउनुका साथै स्वच्छ खानेपानी वितरण प्रणालीलाई व्यवस्थित गरी हिउँदमा सुख्खा क्षेत्रमा स्वच्छ खानेपानी वितरण व्यवस्थापन तर्फ ध्यान दिन समेत निर्देशन दिएको छ।

अलपत्र रहेका विभिन्न खानेपानी आयोजनाहरू समयमै सम्पन्न गरेर जनताको स्वच्छ पानी खान पाउने अधिकार हनन हुनबाट रोक्नुपर्ने समितिले जनाएको छ। त्यसैगरी, समितिले सरकारको नीति तथा कार्यक्रम अनुरुप नै बजेट गर्न र गराउन निर्देशन समेत दिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार