काठमाडौँ – क्याम्ब्रिज विश्वविद्यालयले जलवायु परिवर्तनका कारण भएको भूमि प्रदूषण कम गर्न अनुसन्धान केन्द्र खोल्ने तयारी गरेको छ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ‘भूमिको बिग्रँदो अवस्थामा कसरी सुधार ल्याउन सकिन्छ’ भन्ने उपायको खोजीका लागि सो अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको हो। यस केन्द्रले पृथ्वीको ध्रुवमा स्थिरता बनाइराख्ने र जलवायुबाट कार्बनडाइक्साइड हटाउनेबारे मूलभूत तरिकाहरूको छानबिन गर्नेछ।
आगामी दिनहरूमा वातावरणले अझ भयानक रूप लिने र आफैँमा नियन्त्रित नहुने भएकाले अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको उक्त विश्वविद्यालयका वैज्ञानिकहरूले बताएका छन्। सञ्चालन गर्न लागिएको उक्त केन्द्र विश्वकै पहिलो हुनेछ, जसले कार्बनडाइक्साइडको उतपादनलाई रोक्न ठूलो भूमिका खेल्नेछ। यो केन्द्र निर्माणको पहललाई पूर्व वैज्ञानिक सल्लाहकार डेभिड किङ्गले समन्वय गरेका छन्।
‘अहिलेसम्म कुनै पनि केन्द्रले यति ठूलो विषयमा ध्यान केन्द्रित गरेको छैन्। त्यसैले अब आउने १० वर्षभित्र हामीले जति काम गर्नेर्छौँ, त्यसले पछिका १० हजार वर्षलाई साहारा दिनेछ,’ प्रोफेसर डेभिड किङ्गले भने। प्रोफेसर डेभिड किङ्गले दिएका दृष्टिकोणहरूलाई भू–इन्जिनियिरिङ्ग पनि भनिन्छ।
भूमि सुधार केन्द्र क्याम्ब्रिज विश्वविद्यालयको कार्बन न्युट्रल फ्युचर्स् इनिसियटिभ्स् को हिस्सा हो। जसलाई डा.एमिली सक्बर्गले अगाडि बढाएकी छिन्। इनिसियटिभ्सको उद्देश्य ‘जलवायु समस्यालाई समाधान गर्नु हो,’ डा. सक्बर्गले बताइन्। ‘यो कार्य हुनैपर्छ र यसमा हामी असफल हुनुहुँदैन।’ उनले भनिन्, ‘यस कार्यले सबै वैज्ञानिक, इन्जिनियर र विज्ञहरूलाई एक साथ ल्याउनेछ। अहिले यो कार्य हाम्रा लागि निकै चुनौतिपूर्ण बनेको छ र यसलाई हामीले मिहिनेतका साथ पूरा गर्नुपर्छ।’ एजेन्सी





