कालिमाटीका तरकारी : परीक्षण भएपनि भान्छामा पुग्छ विषाक्त तरकारी

काठमाडौँ – काठमाडौँको कालिमाटी फलफूल तथा तरकारी बजारमा आउने तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण भएपनि विषाक्त तरकारी उपभोक्ताको भान्छासम्म पुग्ने क्रम भने यथावत छ।

त्यहाँस्थित विषादी अवशेष द्रुत विश्लेषण इकाइले तरकारी तथा फलफूलमा विषादीको नमुना परीक्षण गरे पनि त्यसको नतिजा भने कार्यान्वयन हुन सकेको छैन्। त्यसैले औपचारिकता पुरा गर्न मात्र गरिने सो परीक्षणको कुनै अर्थ देखिँदैन।
विं.सं. २०७१ सालदेखि सञ्चालनमा आएको उक्त इकाइको नमुना परीक्षण कागजमा मात्र सीमित हुँदै आएको छ।

बजारबाट नमुनाको रूपमा केही तरकारी ल्यावमा ल्याएर परीक्षण गरेपनि बाँकी रहेको तरकारी भने उपभोक्ताको घरसम्म पुग्ने गरेको छ।

मानव स्वास्थ्यमा पार्ने सम्भावित नकारात्मक असरलाई न्यूनीकरण गर्ने उद्देश्यले इकाइको स्थापना भएको थियो। तर, इकाइबाट जाँच गरिएको तरकारी तथा फलफूलमा विषादीको मात्रा बढी भएको पाइएपनि उक्त तरकारी बजारमा विक्री वितरण हुँदै आएको छ।

इकाइका नायव प्राविधिक सहायक जागेश्वर शर्माका अनुसार पछिल्लो समय कालीमाटी फलफूल तथा तरकारी बजारमा दैनिक भित्रिने करिब ८०० क्विन्टल खाद्य वस्तुमा विषादी घट्दैछ। तरपनि इकाइले विषादीयुक्त तरकारी बेच्न रोक लगाउन भने सकेको छैन्।

‘विषादी परीक्षण गरेर नतिजा निकाल्न दुई देखि डेढ घण्टा लाग्छ,’ उनले भने, ‘नतिजा निस्कन धेरै समय नलागे पनि नतिजा नआउन्जेल विक्री वितरण गर्न रोक लगाउन भने सकिएको छैन्।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सहयोगमा कहिले काहीँ छड्के चेक जाँच गर्दा परिणाम जस्तो सुकै आएपनि परीक्षण पछि बाँकी रहेको सामान भने उपभोक्ताको भान्छामा जान बाट रोक्न नसकिएको शर्माको भनाइ छ।

विषादीको मात्रा घट्दो
फलफूल तथा तरकारीमा विषादीको मात्रा अत्यधिक रूपमा बढ्दै गइरहेको भन्दै चर्कोे आलोचना भइरहेका बेला विषादी अवशेष द्रुत विश्लेषण कालीमाटी इकाइले भने घट्दै गइरहेको बताएको छ। पछिल्ला केही वर्षयता फलफूल तथा तरकारीमा विषादीको मात्रा घट्दै गइरहेको इकाइका नायव प्राविधिक सहायक जागेश्वर शर्मा बताउँछन्।

तरकारी तथा फलफूलमा विषादीको प्रयोग कम गर्न तत्कालै नसकिए पनि कृषकहरूलाई दिइएको चेतनामुलक तालिम प्रभावकारी भएको उनको भनाइ छ । ‘पछिल्लो समय परीक्षणमा कम हानिकारक विषादी भेटिएको छ’, उनले भने, ‘विषादी प्रयोग गरेपछि कम्तीमा चार दिनसम्म तरकारी तथा फलफूल नटिपेर खुल्ला राख्दा विषादी कम हुन्छ।’

उक्त इकाइले विषादी प्रयोगका आधारमा फलफूल तथा तरकारीलाई हरियो, पहेँलो र रातो गरी तीन भागमा विभाजन गरी परीक्षण गर्दै आएको छ। जसमध्ये हरियोमा ३५ प्रतिशतभन्दा कम विषादी हुने भएकाले खान योग्य, पहेँलोमा ३५ देखि ४५ प्रतिशतसम्म विषादी भएको क्वारेन्टाइन तह अर्थात दुई/तीन दिनपछि पुनः परीक्षण गर्नुपर्ने र रातोमा पर्ने तरकारी तथा फलफूलमा ४५ प्रतिशतभन्दा बढी विषादी प्रयोग भएको हुने हुनाले तुरुन्त नष्ट गर्नुपर्ने मानिन्छ।

उक्त इकाइले विषादीको परीक्षण गरे पनि नियन्त्रणका लागि प्रर्याप्त मात्रामा चेतनामूलक कार्यक्रम भने गरेको पाइँदैन। प्लाण्ट क्वारेन्टाइन एवम् विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदी केन्द्रले किसान तथा एग्रोभेटलाई विषादी न्यूनीकरणसम्बन्धी चेतनामूलक कार्यक्रमहरू प्रदान गर्दै आइरहेको बताउँछन्।

उपभोक्ता अधिकार मञ्चले पनि विषादी व्यवस्थापन केन्द्रसँगको सहकार्यमा जिल्ला छनौट गरी नियमित अन्तक्र्रिर्या कार्यक्रम गर्ने गरेको छ । देशभर विषादी व्यवस्थापन गर्ने प्रयास भइहेको सुवेदीको भनाइ छ। विषादी व्यवस्थापनका निम्ति कडा खालको विषादीको दर्ता प्रक्रियालाई हटाउने र सुरक्षित विषादीको दर्तालाई सजिलो बनाउने प्रयासमा लागेको सुवेदीले जनाए।

‘कानुन कमजोर हुँदा विषादीको प्रयोग गर्नेहरूलाई कानुनी प्रक्रियाबाट कारबाही गर्न सकेका छैनौँ,’ उनले भने, ‘केन्द्रबाट मात्र अनुगमन गरेर समाधान हुन कठिन छ। जिल्लाहरूमा निरीक्षक कम हुँदा पनि विषादीसहितका तरकारी तथा फलफूलहरू भित्रने गरेका छन्।’

विषादीको प्रयोग कहिले कति ?
विषादी अवशेष द्रुत विश्लेषण इकाइले पहिलो पटक(०७१ असार असार ५ देखि ३२ गतेसम्म) गरेको १८७ प्रकारका तरकारी तथा फलफूलको नमुना परीक्षणमा २६ वटा रातो, ६ वटामा पहेँलो र १५५ वटा हरियो वर्गमा परेको थियो।

त्यसपश्चात २०७१/०७२ मा गरिएको परीक्षणमा भने अघिल्लो वर्षको तुलनामा कम विषादी प्रयोग भएको पाइएको थियो। जम्मा १५७० तरकारी तथा फलफूलमा गरिएको परीक्षणमा रातो ४, पहेँलो १५ र १५५१ वटा हरियो वर्गमा परेको नायव प्राविधिक सहायक शर्मा बताउँछन्।

त्यसैगरी २०७३/०७४ मा १९३० वटा नमुना परीक्षण गरिएकोमा २२ वटा रातो, ५वटा पहेँलो र १९०३ वटा हरियो थियो। २०७४/०७५ सम्म आइपुग्दा तरकारी तथा फलफूलमा विषादीको प्रयोग निकै नै कम भएको पाइएको थियो। उक्त वर्ष १८५० वटा नमुना परीक्षण गरिएकोमा ३ वटा रातो, एउटा पहेँलो र बाँकी हरियोमा परेको थियो।

इकाइका अनुसार २०७५/०७६ को हालसम्म १६८९ नमुना परीक्षण भएको छ। त्यसमध्ये दुइटा पहेँलो, दुइटा रातो र बाँकी १६८५ वटा हरियोमा परेका छन्।

मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक मानिने विषादीको प्रयोगले दम, एलर्जी, स्नायु विकास र व्यवहारमा विकृति, क्यान्सर, प्रजननसम्बन्धी विकृति र बालबालिकामा अपाङ्गताजस्ता दीर्घकालीन समस्याहरू निम्त्याउने गर्दछ।

ताजा समाचार

सम्बन्धित समाचार