कैलाली– खडेरी लागेसँगै डडेल्धुराका वन क्षेत्रमा डढेलो लाग्ने क्रम बढेको छ। जिल्लाका २५ सामुदायिक वनमा डढेलो लागेको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ।
डढेलोबाट २५ वटा सामुदायिक वनका स–साना बिरुवा र जडीबुटी जलेर नष्ट भएका छन्। डिभिजन वन कार्यालय डडेल्धुराका सूचना अधिकार प्रकाश जोशीका अनुसार २५ सामुदायिक वनमा फैलिएको डढेलोले अहिलेसम्म पाँच सय हेक्टर वनमा क्षति गरेको छ। उनी विकराल रूप लिएको डढेलोलाई निभाउने प्रयास भइरहेको बताउँछन्।
‘सामुदायिक वनका मानिस र वनका कर्मचारी मिलेर आगो निभाउने प्रयास जारी छ,’उनले भने,‘तर,हामीसँग आगो निभाउने कुनै यन्त्र छैन।’ डढेलोका कारण वन्यजन्तुको कति असर भयो भन्ने तथ्याङ्क नआएको उनी बताउँछन्। उनले भौगोलिक कठिनाइ, पानीको अभाव र यन्त्र नहुँदा डढेलो नियन्त्रण गर्ने नसकिएको बताए।
२५ सामुदायिक वन मध्ये ७ वटा सामुदायिक वनमा डढेलो नियन्त्रणमा लिएपनि कतिपय स्थानमा आगो निभाउन जाँदा मानवीय जोखिम हुने भएकाले त्यहाँ पुग्न नसिकएको उनको भनाइ छ। लापरबाहीपूर्ण तरिकाले मानिसहरूले आगो लगाइदिँदा वनमा डढेलो बढेको सूचना अधिकारी जोशीले जनाए।
जिल्ला वन कार्यालय डडेल्धुराको तथ्याङ्क अनुसार जिल्लामा कूल भू–भागको ७५ प्रतिशतभन्दा बढी क्षेत्रफल वनजङ्गलले ओगटेको छ। एक लाख ५३ हजार ८ हेक्टरमध्ये एक लाख १५ हजार १५९ हेक्टर क्षेत्रफलमा वन फैलिएको छ।
वन विभागका अनुसार नेपालमा ८३ प्रतिशत डढेलो मध्ये फागुनदेखि मध्य वैशाखसम्म अर्थात् मार्चदेखि अप्रिल महिनामा लाग्ने गर्छ।
वन ऐन २०४९ ले वन क्षेत्रमा आगो लगाउनेलाई १० हजार जरिवाना र एक वर्ष कैदको व्यवस्था गरेको भए पनि यो कसुरमा अहिलेसम्म कसैको नाममा मुद्दा दर्ता भएको छैन्। यस तथ्यले पनि डढेलो जस्तो विनाशकारी प्रकोपमा संलग्नहरू कानुनी दायरामा नआएको देखाउँछ।
वन मन्त्रालयले कञ्चनपुर, कैलाली, सुर्खेत, बर्दिया, बाँके, दाङ, नवलपरासी, चितवन र पर्सा जिल्लालाई डढेलोको अति संवेदनशील जिल्लाहरूको सूचिमा राखेको छ।





