हिमाल आरोहण : ८ जना सगरमाथा, ६ कञ्चनजंगा, ५–५ मकालु र ल्हाेत्सेकाे शिखरमा

काठमाडौँ – विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण शुरु भएसँगै यो सिजन(बसन्त ऋतु)को पहिलो चरणमा आठ नेपाली आरोही सगरमाथाको शिखरमा पुगेको पर्यटन विभागले जनाएको छ।

विभागका अनुसार सिद्धी बहादुर तामाङ, पासदावा शेर्पा, दोर्जी ग्याल्गेन, दावा नोर्वु शेर्पा, पासाङ दावा शेर्पा, मिंग दोर्जे शेर्पा, आङ फुर्वा शेर्पा र सांग्बु भोटे लामा मंगलबार दिउँसो १ बजेर ३५ मिनेटमा चुचुरोमा पुगेका हुन्।

यसका साथै अन्य देशका आरोहीहरू पनि शिखरमा पुग्ने क्रम जारी नै छ। विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यो सिजन मा ४८ मुलुकका ३७८ जनाले अनुमति लिएका छन्।

सगरमाथासँगसँगै कञ्चनजंगा, ल्होत्से र मकालुमा पनि आरोहण शुरु भएको छ। यो सिजनको पहिलो चरणमा कञ्चनजंगाको शिखरमा ६ जना पुगेका छन्। लाक्पा शेर्पा, दावा फिन्जो शेर्पा, फुर्व शेर्पा, आङ दोर्ची शेर्पा, फुर्वा दोर्ची शेर्पा र मिङमार शेर्पाले कञ्चनजंगा आरोहण गरेका छन्। उनीहरू मंगलबार बिहान ३ बजेर १५ मिनेटमा चुचुरोमा पुगेका हुन्।

त्यसैगरी ल्होत्सेको शिखरमा ५ जना पुगेका छन्। किली पेम्बा शेर्पा, पेम्बा छोटे शेर्पा, आङ जंबु शेर्पा, देन्दी शेर्पा र तामताङ्ग शेर्पाले मंगलबार बिहान ९ बजेर ४७ मिनेटमा ल्होस्से आरोहण गरेका हुन्।

मंगलबार नै मकालुमा पनि ५ जनाले आरोहण गरेका छन्। बिहान ८ बजेर ४५ मिनेटमा सानु शेर्पा, नीमा शेर्पा, छाङ्बा शेर्पा, मु दोर्ची शेर्पा र लाक्पा थिन्दुक शेर्पा मकालु शिखरमा पुगेका हुन्।

ताजा समाचार

सम्बन्धित समाचार