काठमाडौँ—२० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको नेपाल भ्रमण वर्ष—२०२० शुुरु हुन ८ महिना मात्र बाँकी छ। नेपालमा मुख्य पर्यटकीय क्षेत्र हिमाल, पर्वत, नदीखोला, मठमन्दिर र निकुञ्ज, संरक्षित क्षेत्र हुन्।
विश्वकै सर्वाेच्च शिखर सगरमाथादेखि थुप्रै हिमाल नेपालमै छन्। तर, सरकार भ्रमण वर्ष मनाउन आतुर रहिरहँदा यहाँका हिमालमा भने फोहोर बढ्दै गएको छ।
सगरमाथामा क्षेत्रमा मात्र ८ टनभन्दा बढी फोहोर रहेको अनुमान गरिन्छ। पर्वतारोहीहरूका अनुसार सगरमाथा क्षेत्रमा पर्वतारोही र तिनका सहयोगीले छाडेका विभिन्न सामग्री र फोहोर छरिएका छन्। हिउँ पग्लिएको बेला हराएका पर्वतारोहीका शवहरू पनि देखिने गरेको खबर बेलाबेला सार्वजनिक हुन्छ।
वन तथा वातावरण मन्त्रालय जलवायु व्यवस्थापन महाशाखाका प्रमुख महेश्वर ढकाल भन्छन्, ‘पहिला नदेखिएको फोहोर हिउँ पग्लिएका बेला यत्रतत्र देखिने गरेको पर्वतारोहीहरू बताउने गरेका छन्।’
सन् २०१८ मा मात्र सगरमाथा चढेकी छोकु शेर्पा सगरमाथाको आधारशिविरमा बढी फोहोर हुने गरेको बताउँछिन्। पर्वतारोही र तिनका सहयोगीले लगेका खाद्यपदार्थ, अक्सिजन सिलिण्डर र अन्य उपकरण, पाल, डोरी, पकाएर खाने भाँडाकुँडा र मलमूत्र सगरमाथामा धेरै देखिने गरेको उनको भनाइ छ।
ढकाल भन्छन्, ‘आरोहण पश्चात शरीर थकित हुन्छ, आफू नै फर्कन समस्या हुने भएकाले कतिपयले फोहोर त्यतै छाडने गरेको बताइन्छ। तर, फोहोर फ्याँकेको ठाउँको हिउँ एकैछिनमा पग्लिने गर्छ।’ यसले हिमाली क्षेत्रमा दुर्गन्ध मात्र बढाएको छैन, सेताम्य रहेको हिउँमा फोहोर फ्याँक्दा उक्त ठाउँमा हिउँ समेत रहँदैन।
आरोहण दलले फोहोर हिउँमुनि पुर्ने चलन अझै छ। त्यो फोहोर हिउँ हटेपछि तुरून्तै देखिन्छ । सफाइमा चासो नदिने हो भने फोहोरले विकराल रूप लिन सक्छ।
हिमाली क्षेत्रमा प्रदूषण बढ्दा तटीय क्षेत्रमा आउने पानीको स्रोतमा पनि असर गरेको वातावरणविद्हरू बताउँछन्।
सरकारले गत वर्षको नीति तथा कार्यक्रममा हिमाललाई स्वच्छ र सफा राख्न सरसफाइ अभियान थालिने उल्लेख गरेपनि कार्यान्वयन भएको पाइँदैन । बरु २० वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा पनि सोही विषयलाई निरन्तरता दिइएको छ।
सफाइ कसले गर्ने?
सरकारले हिमालमा हुने फोहोर व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दियो, गत भदौमा। उक्त पत्र पर्वतारोहीहरूलाई आरोहण अनुमति दिने र उनीहरूसँग रोयल्टी एवम् धरौटी लिने निकाय पर्यटन विभागले पठाएको थियो।
पत्र पाएपछि केही स्थानीय तहले आफ्नो क्षेत्रमा भएका हिमालको फोहोर व्यवस्थापन गर्नेबारे छलफल गरे। तर त्यसका लागि रकम जुटाउने ठूलो चुनौती देखियो।

सगरमाथासहितका हिमालहरूको फोहोर व्यवस्थापन कसले र कसरी गर्ने भनेर केन्द्र र स्थानीय सरकारबीच अन्योल देखिएको छ।
सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष आङ् दोर्जी शेर्पा भरपर्दो व्यवस्था गरेर हिमालहरुको सरसफाइ गर्न विशेष अभियान चलाउनुपर्ने बताउँछन्।
हिमाल आरोहणमा जाने प्रत्येक आरोहीले आधारशिविर फर्कंदा अनिवार्य ८ किलोग्राम फोहोर फिर्ता ल्याउनुपर्ने व्यवस्था छ। हिमाल आरोहण गर्ने प्रत्येक आरोहण दललाई फोहोर व्यवस्थापन गर्न ४ सय अमेरिकी डलर विभागसँग धरौटी राख्नु अनिवार्य छ। फोहोर हिमालमा छाडेमा धरौटी जफत हुने कानुनी व्यवस्था छ।
नेपाल पर्यटन विभागका महानिर्देशक डुण्डुराज घिमिरे हिमाल सरसफाइको जिम्मा स्थानीय तहलाई दिइएकाले पर्वतारोहीले स्थानीय तहबाट फोहोर व्यवस्थापन गरेको पत्र ल्याएपछि धरौटी फिर्ता गरिने गरिएको बताउँछन्।
सगरमाथा राष्ट्रिय निकुञ्ज र नेपाली सेनाले गत वैशाख पहिलो साता मात्र सगरमाथा हिमाल सफाइ अभियान आयोजना गरेका थिए। खुम्बु क्षेत्रबाट संकलित नसड्ने र नगलने एक हजार किलोग्राम फोहोर काठमाडौं ल्याइएको थियो, भने सोही परिमाणको सड्ने फोहोर ओखलढुंगामा व्यवस्थापन गरिएको थियो।





