पैदल यात्रीलाई सास्ती नै सास्ती

काठमाडौँ – पैदल यात्रा गर्नु स्वास्थ्यको लागि फाइदाजनक भएको हुँदा अधिकांश मानिसहरू हिँड्न रुचाउँछन्। काठमाडौँका कतिपय ठाउँमा सवारी साधनको प्रयोगभन्दा पनि हिँडेरै छिटो पुगिने हुँदा पैदल यात्रीको संख्या बढी देख्न सकिन्छ। तर, देशकै राजधानी काठमाडौँमा पैदल यात्री भने असुरक्षित छन्।

पछिल्लो समय पैदल यात्रीहरूको दुर्घटनादर बढेको देखिन्छ। विशेषगरी सवारी चालकको मनोमानी, अव्यवस्थित पार्किङ, खाल्डाखुल्डी परेका सडक, जेब्राक्रसिङ, आकासेपुल तथा ट्राफिक लाइटको कमीले गर्दा पैदल यात्रीहरू बढी दुर्घटनामा पर्ने गरेका छन्।

काठमाडौँ उपत्यकालाई देशकै व्यस्त र अव्यवस्थित शहर भनेर टिप्पणी भइरहँदा पनि व्यापार व्यवसाय, अध्ययन र रोजगारीको सिलसिलामा काठमाडौँ आउनेहरूको संख्यामा भने कमी भएको छैन।

उपत्यकामा बन्दै गरेका सडकहरू, घर बनाउनलाई थुपारिएका गिट्टी बालुवा तथा सिमेन्ट, धुलो, हिलो र बढ्दो सवारी साधनहरूको जाम, अव्यवस्थित पार्किङ र साघुँरा सडकपेटीमा हुने गरेको व्यापारले पनि पैदल यात्रीहरूको दैनिकीमा गम्भीर असर परिरहेको देखिन्छ।

सडक पेटीमा हिँडिरहँदा पैदल यात्रीहरू अनेकन समस्याबाट गुज्रिरहेको बताउँछिन् चितवन स्थायी घर भई काठमाडौँमा अध्ययनरत आशिका पोखरेल। भीडभाड तथा व्यस्त सडक पेटीमा आफूले बोकीरहेको झोलाबाट सामानहरू हराउने, केटी देखेपछि ठेल्दै तथा धकेल्दै हिड्ने लगायत विभिन्न किसिमका पीडाबाट गुज्रनुपरेको उनको भनाइ छ।

साँघुरो पेटीमा आनन्दसँग हिँड्नै मुस्किल हुने उनको गुनासो छ। ‘सडक पेटीमा व्यापार गर्दै आएका व्यापारीहरूले सामान किन्न आग्रहगर्दै पछि लागेर हैरान बनाउँछन्,’ उनले भनिन्, ‘जथाभावी रूपमा सडकमा माग्न हिँडेका बालबालिकाहरूले पनि साह्रै दुख दिन्छन्।’

सरकारले बढ्दो सडक दुर्घटना साथै अव्यवस्थित ट्राफिक जाम नियन्त्रण गर्ने हेतुले पिक एण्ड ड्रप नियम लागू गरे तापनि पैदलयात्रीहरू भने यसको सिकार भएको महसुस गर्छन्। कतिपय पैदलयात्रीहरू यस्तो किसिमको नियमबारे अनविज्ञ हुँदा घण्टौँसम्म पनि निषेधित क्षेत्रमा गाडी कुरेर बस्ने गरेको देखिन्छ। भारी तथा गह्रौँ सामान बोकेर हिँड्ने यात्रीहरू यस्तो नियमबाट असन्तुष्ट देखिन्छन्।

उच्च शिक्षा हासिल गर्न काठमाडौँ आएकी बैतडीकी उर्मिला बोहरा सुनधारामा मानिसको भीडको बीचमा गाडीको प्रतिक्षा गर्दै थिइन्।

काठमाडौँका सुरुवाती दिनहरूमा उनलाई हिँडडुल तथा घुमघाम गर्न निकै कठिन भयो । चारैतिर फैलिएको धुलो तथा हिलो, अत्याधिक सवारी साधनले निम्त्याएको जाम र बस तथा माइक्रोको तीव्र गतिले सडक छेउ भएर हिँड्न पनि कठिन महसुस गर्न थालेपछि उर्मिला आत्तिइन्। उनलाई सहरमा बस्न मन नलागेपछि घरमा फोन गरिन्, आमाले विस्तारै बानी लाग्छ भनेर सम्झाएपछि अलि हल्का महसुस गरिन्।

‘मलाई बाटो काट्नै आउँदैनथ्यो, डराएर दगुर्दै वारपार गर्थें ।’ उनले हाँस्दै भनिन्, ‘आजभोलि त धेरै कुरा थाहा भइसक्यो ।’
त्यसैगरी, त्रिशुली स्थायी घर भई विगत ३६ वर्षदेखि काठमाडौँको नरदेवीमा बस्दै आइरहेका निरबहादुर तामाङको भने छुट्टै अनुभव छ। पछिल्लो १९/२० वर्षदेखि मात्र एक्कासी शहरमा परिवर्तन आएको उनी बताउँछन्।

‘अहिले जताततै घरहरू बनेका बनै छन्, घर बनाउन चाहिने सामानहरू, गिट्टी बालुवा, सिमेन्टजस्ता सामग्रीहरू चिटिक्क पारेको बाटोमा नै थुपारेका हुन्छन्,’ उनले भने, ‘काठमाडौँमा जथाभावी रूपमा राखिएका सामग्रीहरूले गर्दा नै मानिसहरूलाई हिँड्न मुस्किल हुने गरेको छ। यहाँ घर बन्न नरोकिएसम्म, यात्रुहरूका समस्या समाधान गर्न कठिन हुन्छ।’
महानगरपालिकाले काठमाडौँलाई स्मार्ट सिटी बनाउने भन्दै घोषणा गरेको लामो समय बितिसक्दा पनि शहर भने अस्तव्यस्त नै देखिन्छ । शहरका साँघुरा सडक पेटीहरू, अस्तव्यस्त सडक व्यवस्थापनको निम्ति उचित किसिमको नियम नहुँदा पनि पैदल यात्रीहरू मर्कामा परेका छन्।
तस्बिरहरू : अमिष रेग्मी

ताजा समाचार

सम्बन्धित समाचार