ललितपुर- ललितपुरको सुनाकोठी, ठेचो, चापागाँउ र टाहखेल सडकखण्ड अनिश्चितकालिन बन्द आज (सोमवार) पनि जारी छ ।
सडक विस्तारका क्रममा वर्षौ वित्न लाग्दा समेत स्थानीय सरकार, जनप्रतिनिधि र सरोकारवालाले कुनै चासो नदिएको भन्दै उनीहरुले अनिश्चितकालिन आन्दोलन सुरू गरेका हुन् ।

दैनिक हजारौँ सवारी साधन गुड्ने सो सडकबाट उड्ने धुवाँधुलोले वातावरण प्रदुषित बन्नुका साथै स्वास्थ्यमा गम्भीर असर परेको स्थानीयहरूको गुनासो छ ।
दिनानुदिन धुलोधुवाँबाट पीडा खेप्दै आएका उनीहरुले रातीको समयमा समेत मास्क लगाएर सुत्नु पर्ने अवस्था हुँदासम्म पनि स्थानीय सरकार, सडक विभाग सडक र सरोकारवालाहरुले कुनै चासो नदेखाएको उनीहरुको आरोप छ ।
अहिले अनिश्चितकालिन रुपमा बन्दको घोषणा गरेकाे र यदि यसो गर्दा समेत स्थानीय सरकार र सडक विभागले कुनै समाधानको पहल नगरे कडा आन्दोलनमा उत्रने चेतावनी उनीहरुको छ ।

गत शुक्रवारबाट बन्द चापागाँउ सडक नखुल्दा दैनिक जनजीवन भने कष्ठकर बन्दै गएको छ ।
चापागाँउको टाहाखेलदेखि धापाखेल दोबाटोसम्म ठाँउ ठाँउमा अवरोध राखेर स्थानीय बासिन्दा बसिरहेका छन् । ठाँउ-ठाँउमा सडकमै टेण्ट गाडिएको छ ।






