धनगढी—कैलालीमा गर्मी अत्यधिक रुपले बढ्न थालेपछि यहाँको जनजीवन प्रभावित बनेको छ । गर्मीका कारण शैक्षिक संस्था, बजार, सरकारी कामकाज समेत प्रभावित भएको हो।
गर्मीबाट शितल पाउनका लागि स्वीमिङ पुल, कोल्ड सेन्टर, उखुको जुस, खबुजा जस्ता पसलमा ग्राहकको भीड बढेको छ।
बढ्दो गर्मीमा शितलताका लागि सबैभन्दा उपयुक्त विकल्प बनेको छ स्वीमिङ पुल तथा नदी। चैतदेखि तराईमा गर्मी बढेसँगै पौडी पोखरीहरूमा मानिसहरूको भीड लाग्न थालेको छ। धनगढीमा रहेका धनगढी फन सिटी र शुभश्री प्यालेजमा रहेको स्वीमिङ पुलहरू अहिले खचाखच भरिएका छन्।

एक वर्षदेखि सञ्चालनमा आएको धनगढी फन सिटीमा दैनिक ५ देखि ७ सय जना पौडी खेल्न आउने गरेको सञ्चालक श्याम विष्टले बताए। यहाँ स्थानीयसगै भारतीय पर्यटक पनि गर्मीबाट छुटकारा पाउनका लागि धनगढीका स्वीमिङ पुलमा पौडी खेल्न आउने गरेका छन्।
फन सिटीमा आउने मध्ये ७० प्रतिशत भारतीय पर्यटक आउने गरेको सञ्चालक विष्ट बताउँछन्। पछिल्लो सयम धनगढीमा स्वीमिङ पुल बनेपछि कैलालीको टिकापुर, लम्की, अतरिया घोडाघोडी लगायत विभिन्न ठाउँबाट मानिसहरू पौडी खेल्न आउने गरेका छन्।
त्यसैगरी भारतको लखनउ, मैलानी, लखिमपुर, गोला, भिरा, पलिया र बनगाउँवा लगायत ठाउँबाट पर्यटकहरू आउने गरेको सञ्चालक विष्टले बताए। १५ करोडको लगानीमा तयार भएको फन सिटीमा जलविहार गर्न विभिन्न सुविधासहितको फन पार्क सञ्चालनमा छ।
‘तापक्रम ४२ डिग्रीसम्म पुग्यो। दिनभर कार्यालयमा तातो हावामा काम गर्नुपर्ने बाध्यता छ,’ स्थानीय सरोज कार्कीले भने,‘साँझतिर पौडी खेल्दा केही हदसम्म शितल प्राप्त गरेको अनुभव हुन्छ।’
गर्मीबाट छुटकार पाउन पौडी पोखरी आउनेहरू प्रशस्त छन् । तर, पानीको स्वच्छताप्रति भने सचेत भएको देखिँदैन।
‘पानी हेर्दा सफा देखिन्छ। पहिला यही स्वीमिङ पुल पनि थिएन। पानी कति सफा छ भन्दा पनि गर्मीबाट छुटकारा त पाए भन्ने लाग्छ,’ स्थानीय ललिता भट्टले भनिन्।
स्वीमिङको लागि हरेक दिन साँझ पानीमा औषधी हाल्नुका साथै सरुवा रोग लागेका ग्राहकहरूलाई पौडी खेल्न रोक लगाइएको सञ्चालक बताउँछन्।
अत्यधिक गर्मी त्यसमाथि तातो हावा चल्दा सर्वसाधारणलाई घर बाहिर निस्किनसमेत समस्या भएको छ। केही दिनदेखि कैलालीको तापक्रम ४० देखि ४२ डिग्री सेल्सियससम्म पुगेको छ।





