कञ्चनपुर– कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुरको मुक्त कमैया शिविरमा पानीको हाहाकार भएको छ।
गर्मी बढेसँगै धारामा पानी सुक्न थालेपछि उक्त शिविरमा पानीको समस्या बढेको हो।
फागुनदेखि वर्खायाम शुरु नभएसम्म उक्त बस्तीमा पानीको समस्या हुने त्यहाँका बासिन्दाको भनाइ छ।
“गर्मीयामका तीन महीना त प्यास मेटाउनै मुश्किल पर्छ”, उक्त शिविरकी अनिता विकले भनिन्, “मुक्तभएपछि यहाँ बसेयता पानीको समस्या हरेक वर्ष झेल्नुपरेको छ।”
बस्तीकै सुनिता थारु पनि पानीकै कारण बस्तीभरि समस्या रहेको गुनासो गर्छिन्। “कमैयाबाट मुक्त भएपछि स्वतन्त्र भएको आभास त भयो”, उनले भनिन् “तर सामान्य सुविधासमेत बस्तीमा नहुँदाको पीडा हामीलाई मात्रै थाहा छ।”
सिँचाइको अभावले करेसाबारीमा तरकारी फलाउन पनि समस्या हुने गरेको स्थानीयवासीको दुखेसो छ। विसं २०५८ मा पुनःस्थापना भई शिविरमा बसेयता पानीको समस्या रहेको स्थानीय लक्ष्मी औजीले बताइन।
बस्तीमा पानीका लागि बोरिङ जडानको काम भइरहेको भए पनि त्यसको निर्माण गति सुस्त रहेको उनी बताउँछिन्।





