मौरीपालनले उकासेको श्रेष्ठ दम्पत्तीको जीवन (अडियोसहित)

[zoomsounds_player artistname=”interview” songname=”honey” type=”audio” dzsap_meta_source_attachment_id=”22709″ source=”https://www.hakahakionline.com/np/wp-content/uploads/2019/05/honey.mp3″ config=”default” autoplay=”off” loop=”off” open_in_ultibox=”off” enable_likes=”off” enable_views=”off” play_in_footer_player=”off” enable_download_button=”on” download_custom_link_enable=”off”]

काठमाडौँ – परिश्रमी हात भए विदेश जानै पर्दैन्, स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, ललितपुर धापाखेलका मौरीपालक धर्मराज श्रेष्ठ।

झण्डै दुई दशक अगाडि एक घारबाट मौरीपालन सुरु गरेका श्रेष्ठले अहिले मौरीपालनको साम्राज्य नै खडा गरेका छन्। मध्यम परिवारमा जन्मेका श्रेष्ठको पाइलट बनेर आकाशमा जहाज उडाउन सपना थियो। तर, समयले उनको परिचय फेरेर सफल मौरीपालक व्यावसायी बनाइदिएको छ।

व्यावसायिक रूपमा माैरीपालनको पहिलो पहल चितवनमा २०५१ मा ‘नेपाल बी कन्र्सन’ को स्थापनासँगै भयो। यससँगै उनले व्यावसायिक मौरीपालनको यात्रा पनि सुरु गरे । ‘नेपाल बी कन्र्सन’को सफलता हात लागेपछि आफ्नो व्यावसायलाई फराकिलो बनाउने सोचअनुसार २०७० सालमा उनले दोस्रो कम्पनी ‘माउण्टेन बी कन्र्सन’को स्थापना गरे। यी दुई उद्योगले उनलाई आर्थिक रुपमा मात्र स्थापित गरेन, सफल व्यावसायीको रुपमा परिचय पनि दिलायो। उनको यो सफलता नयाँ पुस्ता र रोजगारीका लागि देशविदेश भौँतारिएका युवाहरूलाई प्रेरणाको स्रोत बन्नेको छ।

उद्यमीसँगै प्रशिक्षकको परिचय

‘नेपाल बी कन्र्सन’ले उनलाई मौरीपालक किसान बनायो भने ‘माउण्टेन बी कन्र्सन’बाट उनी सफल व्यावसायीका रुपमा परिणत भए । यति मात्र होइन, उनकाे पहिचान एक कुशल मौरी प्रशिक्षकको रूपमा बनिसकेको छ। मह उद्योगी, मौरी तथा मह व्यावसायी संघका पूर्वअध्यक्ष, मौरी व्यवसायी संघका केन्द्रीय सदस्य हुँदै आजको दिनसम्म आउँदा उनी मौरीपालन गर्न चाहने किसानहरूका लागि एक कुशल प्रशिक्षक बनिसकेका छन्।

माैरीपालन गर्न चाहने किसानहरू उनकै फर्ममा आउँछन्, जानकारी लिन । आवश्यक पर्दा उनी आफैँ सल्लाह दिन पनि जान्छन्।

यसरी मिल्यो प्रेरणा

उनका पिताले ५० प्रतिशत अनुदान लिएर चितवनमा १ घार मौरी ल्याए । के गर्ने ? कसरी पाल्ने ? भन्ने विषयमा केही पनि जानकारी थिएन।

बुबाले हेरक दिन मौरी र घारमा गर्ने कामलाई धर्मराजले नजिकबाट नियाल्न थाले । बुबासँगै उनले पनि मौरीबारे बुझ्न थाले। मौरी र मौरीपालनको विषयमा कुनै तालिम हुँदा धर्मराज बुबासँगै जान्थे । पछि यही व्यवसायले नै उनको ध्यान तान्यो। उनी भन्छन्, ‘यो व्यवसायमा झन्झटसँगै फाइदा पनि छ ।’ लगनशीलता र अठोट मौरी व्यवसयीका दुई महत्त्वपूर्ण धार भएको उनले बताए । ‘किरा पाल्न भने जस्तो सजिलो कहाँ हुन्छ र ?’ सफलताको मुख्य सुत्र धैर्य ठान्छन् उनी ।

आम्दानीको दरिलो स्रोत

धर्मराजले चितवनमा २ सय र धापाखेलमा ५ सय गरी ७ सय वटा घारमा ‘मेलिफेरा’ नामक युरोपियन जातका मौरी पाल्दै आएका छन् । एउटा घारमा ७० हजारसम्म मौरी राख्न मिल्छ । एउटा घारबाट एक पटकमा ६० किलोसम्म मह निकाल्न सकिने उनी बताउँछन्। श्रेष्ठका अनुसार यसकाे हिसाब गर्दा वर्षमा एउटा घारबाट मात्रै १८ हजार मेट्रिक टन मह उत्पादन हुन्छ । थोक बिक्री गर्दा एक किलो महको दर तीन सय रुपैयाँ हुन्छ भने त्यसलाई पसलमा लगेर बिक्री गर्दा बजार भाउ ६ सय ६० हुन आउँछ।

श्रेष्ठ भन्छन्, ‘मह बेच्न गाह्रो छैन । तर व्यावसायसम्बन्धि ज्ञान हुनुपर्छ। कुन बेला ख्वाउने, मह काट्ने, कुनबेला मौरीले कृतिम आहारा खोज्छ भन्ने विषयमा ध्यान दिनुपर्छ ।’

अहिले उनी मौरीसँगै त्यसका लागि आवश्यक पर्ने अन्य उत्पादन आफैँ गर्छन्। किसानहरूलाई बेच्छन्। उनको व्यवसायको दायरा निकै फराकिलो बन्दै गएको छ। उनी महमात्र बेच्दैनन्, मौरीसहितको घार, रित्तो घार, फ्रेम, मौरीसम्बन्धि सम्पूर्ण सामानहरू पनि बेच्ने गर्छन् । त्यति मात्र होइन नेपालमा उत्कृष्ट गुणस्तरको मह व्यवसायीको टप लिस्टमा पर्छन्, धर्मराज ।

यस्ता छन् मौरी पालनका चुनौती

चैत वैशाखमा फूल नफुल्ने भएकाले मह निकाल्न गाह्रो हुने गरेको उनी बताउँछन् । हिउँदमा तराइमा माइग्रेट गर्नुपर्ने भएकाले समस्या आउने गरेको छ। घारसहित गाडीमा लग्दा त्यसभित्रको तापक्रम बढी हुने भएकाले मौरी मर्ने सम्भावना रहेको हुन्छ । मौरीको लागि २० देखि २२ डिग्री सेल्सियस उचित रहन्छ तर गाडीमा भित्रको तापक्रम बढी हुने भएकाले मौरी मर्ने गरेका छन् । एक ठाउँबाट अर्काे ठाउँमा लैजाँदा त्यहाँका स्थानीयहरू‍ आक्रोशित हुने गरेको उनको भनाइ छ ।

‘हिउँदमा अरूको जग्गामा लगेर राख्नुपर्छ , त्यहाँका मानिसहरूले हाम्रो भाग खोस्न आएको भन्ने सोच्नुहुन्छ त्यसले अलि बढी चित्त दुख्छ’ श्रेष्ठले भने । ‘तपाईंहरू हाम्रो ठाउँमा नआउनु भन्ने कुराहरू त हाम्रो लागि सामान्य भइसक्यो, कतिपय ठाउँमा विष राखेर मौरी मारिदिन्छन्,’ उनले थपे । मौरी पालनको बारेमा अझै पनि धेरैलाई राम्रो जानकारी छैन । युरोपियन र एसियन जातका मौरी पालनका लागि नेपालको वातावरण उपयुक्त हुने उनको सुझाव छ ।

नेपाली महको बजार

नेपाली महको बजार राम्रो भएको उनको भनाइ छ। ‘सबैभन्द ठूलो कुरा भनेको विश्वास हो,’ श्रेष्ठले भने, ‘विश्वास भएपछि मह किन्नेको कुनै समस्या हुँदैन।’ पहिलाको तुलनामा महको बजार राम्रो भएको भए पनि महको मूल्य नबढेकामा उनले गुनासो व्यक्त गरे। भन्छन्, ‘महको मूल्य बढेको छैन, खाली यसको व्यवसायीकरण विस्तार भएको हो।’

सरकारले यस व्यवसायलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन गर्नुपर्ने उनको सुझाव छ। ‘मौरी व्यवसायीलाई सामान्य रुपमा लिँदा करोडौँ रकम हामीले बाहिर पठाउनु परेको छ,’ उनले भने। ‘यदी यसबारे सरकारले ध्यान दिने हो भने यसले देशको अर्थतन्त्रमा टेवा दिन्छ। यो व्यवसायलाई हेर्ने दृष्टिकोणमा सुधार भने आएको छ।’ अन्य देशहरूमा मौरी व्यवसाय व्यवसायीकारण भएको भन्दै नेपालमा चाहिँ यसलाई जीविकोपार्जनको माध्यमका रुपमा मात्र हेरिएको उनको गुनासो छ।

परिवारकाे साथ र सहयोग

उनको सफलतापछाडि श्रीमाती सरिता भट्टराई श्रेष्ठको नाम पनि जोडिन्छ। सामाजिक जोखिम मोलेर दश वर्षअगाडि अन्र्तजातीय विवाह गरेकी सरिताले धर्मराजको घर मात्र सम्हाल्दिनन् व्यापारमा पनि उत्तिकै सक्रिय छन् । सरिताको उद्यमी नै बन्ने चाहना थियो । ‘जे सोचेकी थिएँ त्यो पुरा हुँदैछ, संघर्ष त मैले पनि गर्नु पर्‍यो, के गर्लान् र यिनीहरूले ? भन्ने प्रश्न धेरै पटक हामीले सुनेर पनि नसुनेको जस्तो गर्‍यौँ,’ उनले भनिन् । मौरी र महको व्यापारमा हात त हालियो तर प्राविधिक ज्ञान नहुँदा निकै सास्ती भोग्नु पर्‍यो । कामदारको कपटपूर्ण व्यवहार पनि सहनु परेको उनी सम्झन्छिन्।

‘चुनौतिका बीचबाट छोरछोरी हुर्काउँदै महको व्यापार, मौरी र घार निर्माणतिर लाग्यौँ,’ उनले भनिन्, ‘फरक यति मात्रै हो कहिले मात्रा बढ्थ्यो त काहिले घट्थ्यो, त्यो मेरो सक्रियतामा निर्भर हुन्थ्यो।’

‘गाईवस्तु भयो भने घाँस हाल्दिए पुग्छ तर मौरी व्यवसायमा वस्तुपालनको भन्दा ५० प्रतिशत धेरै लाग्छ,’ सरिताले थपिन् । ‘मौरी घारमा मात्र राख्ने त हो नि केही पनि गर्नु पर्दैन भन्छन्,’ सरिताले भनिन्, ‘तर हेरबिचार गरेन भने घार नै खाली गरेर जान्छ।’

सरकारले महलाई औषधीको रुपमा परिणत गरेको भए पनि सरकारको तर्फाबाट केही पहल नभएको सरिताको गुनासो छ। जङ्गलमा राख्दा पैसा तिर्नु पर्ने र काम गर्ने मान्छेहरूको पनि अभाव हुने गरेको उनी बताउँछिन्। किरा बोकेर कोही पनि हिँड्न नमान्ने उनको भनाइ छ । मौरी व्यवसायीमा नीतिको अभाव भएको उनीहरू महसुस गर्छन्।

विदेशको भन्दा बढी कमाइ स्वदेशमा

पछिल्लो समय युवाहरू विदेशिने क्रम बढ्दो छ। नेपालमा बसेर के गर्ने ? केही हुँदैन ? राम्रो काम नै पाइँदैन? भन्नेहरूका लागि गतिलो जवाफ हुन् श्रेष्ठ दम्पती। ‘विवाह हुँदा हामीसँग केही पनि थिएन,’ सरिताले भनिन्, ‘मौरी र मह बेचेरै हामीले घर/गाडी जोडेका छाैँ,’ आफ्ने पेसाप्रति उनीहरू गर्व गर्छन्। दुबैले एकै स्वरमा भने, ‘दुःख गर्‍यो भने नहुने केही पनि छैन।’

ताजा समाचार

सम्बन्धित समाचार