Monday, September 30, 2024

प्रशोधित पानी उद्योगमा महिला उद्यमी: वाणिज्य बैंककाे सहलीयतपूर्ण कर्जा

काठमाडौं—स्वच्छ पिउने पानीको उद्योग सञ्चालन गरी महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले दक्षिण एसियाली महिला विकास मञ्च, राष्ट्रिय वाणिज्य बैंक र भारतको टाटा कम्पनीबीच समझदारी भएको छ।

महिला विकास मञ्चले बुधबार आयोजना गरेको कार्यक्रममा पानीको प्रशोधन गरी उत्पादन र बजारीकरण गर्ने र महिलाहरुलाई पानीको क्षेत्रमा उद्यमी बनाउने योजनासहित समझदारी भएको हो।

कार्यक्रममा मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजाल, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र टाटा कम्पनीका एच ई कुट्टीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

मञ्चको नेतृत्वमा गरिएको कार्यक्रममा महिला उद्यमी महासंघ, मानुषी लघु वित्तीय संस्था र व्यावसायिक महिला महासंघ समेत यस परियोजनामा जोडिएका छन्। महासंघकी अध्यक्ष शारदा रिजाल, मानुषी लघु वित्तका अध्यक्ष पद्मासना शाक्य र व्यावसायिक महिला महासंघका  प्रथम उपाध्यक्ष कमलेश लता राजभण्डारीले समेत समझदारी पत्रमा हस्ताक्षर गरे।

प्रशोधित पानी उद्योगमा महिलाहरुलाई सहभागी गराई उद्यमी बनाउने परियोजना अन्तर्गत पहिलो चरणमा काभ्रे जिल्लाको नाला र पनौतिबाट योजना सुरु गरिनेछ। महिलाहरुमा उद्यमशीलताको विकास गर्न राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपूर्ण ऋण सहयोग गर्नेछ भने टाटा कम्पनीले प्राविधिक सहयोग गर्ने जनाइएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै मन्त्री मगरले महिलाहरुलाई उद्यमी नबनाएसम्म समृद्ध नेपाल बन्न नसक्ने बताइन्। पानीको व्यवसायमा महिलाहरुलाई आकर्षित गर्न मन्त्रालयले पूर्ण सहयोग गर्ने उनले प्रतिवद्धता जनाइन्। कार्यक्रममा मञ्चकी अध्यक्ष प्रमिला आचार्यले अबको दुई वर्षभित्र दुई सय वटा स्वच्छ पिउने पानीको उद्योग देशैभरि सञ्चालन गरिने जानकारी दिइन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वाणिज्य बैंकका नेपाल भरिकै शाखाबाट १.६ प्रतिशत व्याजदरमा  महिलालाई ऋण लगानी गरिने प्रतिवद्धता जनाए।

ताजा समाचार

सम्बन्धित समाचार