काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
कान्तिपुर
-आजको कान्तिपुरमा सडकमै सुते चिया श्रमिक भन्ने शिर्षकमा अर्जुन राजवंशीको समाचार छापिएको छ । श्रम ऐन कार्यान्वयनको माग गर्दै आन्दोलित चिया श्रमिकहरूले झापाको बिर्तामोडस्थित सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् । उनीहरूले मङ्गलवार बिर्तामोडको मुक्ति चोकस्थित सडकमा दिउँसो १ देखि २ बजेसम्म सुतेर एक घण्टा चक्काजाम गरी विरोध जनाएका हुन् । सरकारले गत साउनदेखि लागू गरेको श्रम ऐन ०७४, श्रम नियमावली ०७५ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनको माग गर्दै चिया श्रमिकहरू चैत १७ गतेदेखि सडक आन्दोलनमा छन् ।
अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्ट पानी माग्दै प्रदर्शन भन्ने शिर्षकमा अरत्नप्रसाद आचार्यको समाचार छापिएको छ । एक अर्ब ७७ करोडको खानेपानी आयोजना सम्पन्न गर्न ढिलाइ भएको भन्दै धरानवासीहरु खानेपानी माग्दै आन्दोलित भएका छन्। उपमहानगरपालिकाले आयोजना निर्माणमा ढिलाइ गर्दा पानी पिउन नपाएको भन्दै मंगलबारदेखि स्थानीय आन्दोलित बनेका छन्।
-अतिक्रमित जग्गा खोज्न आयोग गठन भन्ने शिर्षकमा सुरेन्द्र काफ्लेको समाचार छापिएको छ। अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा फिर्ता ल्याउन सरकारले उच्चस्तरीय आयोग गठन गरेको छ। मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश मोहनरमण भट्टराई संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको हो। नवगठित आयोगलाई सरकारले अतिक्रमित जग्गा फिर्ता ल्याउनेसम्मको अधिकार दिएको समितिका एक सदस्यले बताए। भट्टराई भ्रष्टाचारका मुद्दा हेर्न गठित विशेष अदालतका अध्यक्षसमेत थिए।
नागरिक
-आजको नागरिकमा एक वर्षमै उप्कियो कालोपत्रे भन्ने शिर्षकमा दिनेश सुवेदीको समाचार छापिएको छ । सहिदमार्गका नामले चिनिने दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्म पुग्ने सडकमा गरिएको कालोपत्रे एक वर्ष नपुग्दै उप्किएको छ। साढे ३१ किलोमिटर उक्त पहाडी सडकको कालोपत्रे उप्किएपछि दर्जनौं स्थानमा खाल्डाखुल्डी पर्दा यात्रा कष्टकर बन्न पुगेको छ। शील प्यासेफिक ज्वाइन्ट भेन्चर कम्पनीले ४० करोड ८३ लाख रुपैयाँमा सो सडक कालोपत्रे गर्ने जिम्मा पाएको थियो।
-सडकले विपत्ति निम्त्याउने खतरा भन्ने शिर्षकमा अनिल भण्डारीको समाचार छापिएको छ । जिल्लाका पहाडी क्षेत्रमा इन्जिनियरिङ अध्ययनबिना जथाभावी सडक निर्माण गर्दा प्राकृतिक विपत्ति निम्तिने खतरा बढ्न थालेको छ। महाभारत क्षेत्रमा सडकका लागि पहाड फोर्न स्थानीय तहले बजेट विनियोजन गरेका छन्। महाभारत क्षेत्रमा पर्ने पहाडमा सडक निर्माण गर्न जथाभावी ठूला उपकरण चलाउँदा प्राकृतिक विपत्तिको खतरा बढेको हो।
-चेपाङ मार्ग स्तरोन्नति सुस्त भन्ने शिर्षकमा सविता श्रेष्ठको समाचार छापिएको छ । भण्डाराबाट मलेखु जोड्ने चेपाङ मार्गको ट्र्याक खोलिएको १० वर्ष पुग्न लाग्यो। ६२ किलोमिटर लम्बाइ रहेको सो मार्ग चितवनमा ३५ किलोमिटर र धादिङमा २७ किलोमिटर रहेको छ। तराई–काठमाडौं जोड्ने वैकल्पिक मार्ग बनाउन ट्र्याक खोलिएको वर्षौं बितिसक्दा पनि सडकको स्तरोन्नतिको काम भने पूरा हुन सकेको छैन। चेपाङ मार्गले पूर्वपश्चिम महेन्द्र राजमार्गको भण्डारा र पृथ्वी राजमार्गको मलेखुलाई जोड्छ।
गोरखापत्र
-आजको गोरखापत्रमा खानेपानीको हाकाहारले गाउँ रित्तिँदै भन्ने शिर्षकमा भोटराज राईको समाचार छापिएको छ । समयमा वर्षात् नभएको र अन्य हिसाबले पनि पानीको व्यवस्था हुन नसकेपछि उदयपुरको ग्रामीण भेगका बासिन्दाले तिव्ररुपमा गाउँ छोड्न थालेका छन् ।