Saturday, August 16, 2025

सेती अञ्चल अस्पतालमा पानीको हाहाकार

धनगढी– बिरामीको चाप हुने सेती अञ्चल अस्पतालमा एक हप्तादेखि पानीको हाहाकार भएको छ।

अस्पताल परिसरमा रहेको धारामा पानी निकै कम मात्रामा आउन थालेपछि पानीको समस्या भएको हो। यो पानी बिरामीले पिउनदेखि शौचालयसम्म प्रयोग हुँदै आएको थियो।

एक हप्तादेखि अस्पतालमा पानीको व्यवस्थापन हुन सकेको छैन्। पानी नहुँदा अस्पतालमा दुर्गन्धसमेत फैलिएको छ। पानीको अभावमा बिरामी तथा कुरुवालाई शौच गर्न समेत समस्या भएको छ।

गर्मीयाम सुरु भएसँगै बिरामीको चाप बढेका बेला नै पानीको अभाव भएकाले शौचालयमा भएको फोहोरले अस्पतालभरी दुर्गन्ध फैलिएको छ।

न्यून मात्रामा आउने पानी थाप्न लाइनमा बस्नुपर्ने भएको छ। सेती अञ्चल अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठ विगत एक हप्तादेखि धारामा पानी एकदमै न्यून आएको बताउँछन्।

‘गत वर्षदेखि नै पानी कम आएको हामीले अनुभव गरेका थियौँ,’उनले भने,‘यो वर्षदेखि त पानी निकै कम आएको छ।’ अस्पतालमा दैनिक २ लाख पानी उपभोग हुँदै आएको थियो।

उनले डिप बोरिङ निर्माण गरिसकेपछि त्यसको आसपासमा जलाशय नहुँदा पानीको स्रोत सुकेको हुनाले बोरिङमा पानी नआएको हुनसक्ने बताए । बोरिङ वरपर कुनै पनि जलाशय नभएकोले गर्दा पानी रिचार्ज हुन नसकेको उनको भनाइ छ।

उनका अनुसार अस्पतालले तत्कालका लागि ४ इन्चको बोरिङ हाली खानेपानी निकाल्ने तयारी गरेको छ। नयाँ डीप बोरिङ निर्माण गर्ने योजना पनि अस्पतालको रहेको छ । तर, यस पटक भने विज्ञसँगको सल्लाहअनुसार मात्र निर्माण गरिने छ।

उनी पानी सुक्नुको कारण अहिलेसम्म थाहा नभएको बताउँछन्। अस्पतालमा डिप बोरिङ निर्माण भएको पाँच वर्ष भएको छ। ‘सुरुका वर्षमा पानी आफैँ आउँथ्यो। पछि मोटर लगाएर तान्न थालेका थियौँ। यो वर्ष त पानी ट्यांकीमा चढ्नै छाड्यो,’उनले भने ।

ताजा समाचार

सम्बन्धित समाचार