काठमाडौँ – यतिबेला काठमाडौँमा चीनको केरुङदेखि काठमाडौंसम्मको रेलको निकै चर्चा छ । विशेषगरी हालै चीनको राजधानी बेइजिङमा सम्पन्न बेल्ट एण्ड रोड इनिसियटिभ(बिआरआई)को दोस्रो सम्मेलनपछि सहभागी मुलुकहरूले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा सो रेललाई उल्लेख गरिएपछि चिनियाँ रेलको सम्भावना बढेको हो।
सो रेलवे लाइनको पूर्व सम्भाव्यताको काम अगाडि बढीसकेको छ र केही हप्तामा नै विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार पार्ने प्रक्रिया अगाडि बढाउनको लागि छलफल हुँदैछ। चीनले नेपालमा रेल ल्याउने भएपछि भारत पनि काठमाडौँ जोड्ने रेलवे लाइन ल्याउन लागिपरेको छ। गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको समयमा रक्सौल–काठमाडौँ रेलवे लाइनको सहमति भएको थियो । त्यस लगत्तै रक्सौल–काठमाडौँ रेलवे लाइनको अध्ययन अगाडि बढाइएको भन्दै भारतीय टोलीले परराष्ट्र मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ।
परराष्ट्र मन्त्रालय छिट्टै नै त्यो प्रतिवेदन प्रधानमन्त्री कार्यालयलाई बुझाउने तयारीमा रहेको छ। स्रोतका अनुसार रक्सौल–काठमाडौ रेलवे लाइनमा धेरै समस्याहरू नभएकाले डिपिआर तयार गरे लगत्तै निर्माण प्रक्रिया अगाडि बढाउन सकिन्छ। उसो त चीनको जस्तै भारतसँगको रेलवे लाइनका सम्बन्धमा कसले लगानी गर्ने भन्ने विषय टुंगो लागेको छैन्।
नेपालले चाँहि दुवै मुलुकलाई रेवले लाइन अनुदानमा बनाइदिनको लागि आग्रह गरिरहेको छ। तर, दुवै मुलुक त्यसका लागि भने तयार देखिएका छैनन्। पहिला हिमाल सिमेन्ट रहेको चोभारमा भारततर्फ आउने रेलवे लाइनको स्टेसन बनाउने तयारी छ। दुवै देशको बीचमा अबको दुई वर्षभित्र डिपिआर तयार गरेर रेलवे निर्माणको प्रक्रिया अगाडि बढाउने तयारी छ। सो रेलवे लाइन कुल ११३ किलोमिटर हुने छ।





