शे–फोक्सुण्डो : सबैथोक छ, सरकार उपस्थित छैन

फोक्सुण्डो (डोल्पा)- यसबेला फोक्सुण्डो एउटा यस्तो भूगोल हो जहाँ राज्यको उपस्थिति छैन। स्थानीयले आ–आफ्ना घरका ढोका खोलेको महिना दिन बितिसक्दा पनि यहाँस्थित राज्यका कुनै पनि निकायका कार्यालयका ढोका खुलेका छैनन्। हिउँ पर्नुअघि तल झरेका सरकारी निकायका कर्मचारी र सुरक्षाकर्मी अझै माथि उक्लिएका छैनन्।

सेना, निकुञ्जका कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षकलगायत सबै वैशाख २३ गतेसम्म पनि तलै छन्। ती सबै ठूली भेरी नगरपालिका र त्रिपुरा सुन्दुरी नगरपालिकामा छन्। जहाँबाट निकुञ्ज छिर्न मात्र हिँडेर तीन घण्टा लाग्छ।

अधिकतर जनसंख्या, दुर्लभ र बहुमूल्य जडीबुटी तथा वन्यजन्तु, वनजंगल, काञ्जिरोवा र सागरलगायत हिमालबाट बग्ने पानी, नेपालको दोस्रो गहिरो ताल फोक्सुण्डो र झरनासहितको फोक्सुण्डो खोलालगायत ९९ प्रतिशत भूगोल माथि (उच्च पहाड तथा हिमाली भाग) छ। तर, राज्य अझै पनि तलै (सदरमुकाम र निकुञ्जको मध्यवर्ती सीमाभन्दा पनि तल) छ। राज्यका कर्मचारी र कार्यालयहरू सबै तल छन्। निकुञ्ज प्रशासन, सुरक्षा, स्वास्थ्यलगायत चौकीहरूमा ताल्चा झुन्डिएका छन्। स्थानीयका अनुसार राज्यको उपस्थिति शून्यताले गर्दा सरकारी सेवा र सुविधा असहज भएको छ।

सरकारी सुविधा लिन छ–सात दिनको पैदल हिँड्नुपर्ने बाध्यता छ। दुर्लभ वन्यजन्तुको चोरी सिकार बढेको छ। अलि बचेका वनजंगल पनि काटिएका छन्। सीमाक्षेत्रमा सुरक्षा चुनौती त्यत्तिकै छ। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको प्रधान कार्यालय, सुरक्षार्थ खटाइएको सेनाको गुल्म, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरू, विद्यालयका शिक्षकहरू सबै तल छन्। यति मात्र होइन, स्थानीय निकाय (गाँउपालिका र वडाकार्यालय) हरूसमेत सदरमुकाम दुनैमा केन्द्रित छन्।

‘समस्या दुई किसिमको छ। एउटा जाडो सुरु भएपछि तल झरेका निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीहरू समयमै निकुञ्ज पोस्ट फर्किदैनन्,’ फोक्सुण्डो मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष फुर्वा तेन्जिङ बुढाले भने, ‘स्थानीय झर्नुभन्दा पहिले कर्मचारी झर्छन् र धेरै पछि मात्र माथि आउँछन्।’ बुढाका अनुसार अर्को समस्या सशस्त्र द्वन्द्वका समयमा तल सारिएका निकुञ्ज प्रशासन र सेनाको गुल्म अहिलेसम्म पनि तलै छन्। ‘सबै थोक माथि छ, सरकार तल छ। मध्यवर्तीमा बसेर निकुञ्जको संरक्षण कसरी हुन्छ ?’ उनको प्रश्न छ।

फोक्सुण्डो ताल किनारमा रहेको निकुञ्जको कार्यालय । यो अहिलेसम्म खुलेको छैन ।

सशस्त्र द्वन्द्वअघि निकुञ्जको प्रमुख कार्यालय फोक्सुण्डोको उकालो सुरु हुनु पहिलेको पलम भन्ने स्थानमा थियो। त्यहाँबाट फोक्सुण्डो उक्लिन करिब डेढ घण्टा लाग्छ। अहिले यो कार्यालय ठूली भेरी नगरपालिका–१० स्थित सुलीगाँढ सारिएको छ, जुन मध्यवर्ती क्षेत्र सुरु हुने स्थान हो। सशस्त्र द्वन्द्वभन्दा पहिले सेनाको गुल्म निकुञ्जभित्र शे–फोक्सुण्डो गाँउपालिका–९ सुन्दुवामा थियो। अहिले यो गुल्म निकुञ्जको कार्यालयभन्दा तल त्रिपुरा सुन्दरी नगरपालिका–२ (जुफाल दुनै सडकखण्ड) मा छ। जबकि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको ९९ प्रतिशत भूगोल माथि छ।

शे–फोक्सुण्डो गाँउपालिकेखि ७ वटा वडा उपल्लो डोल्पामा पर्छन्, ८ र ९ वडा मात्र फोक्सुण्डो ताल रिग्माभन्दा अलि तल पर्छन्। ‘सशस्त्र द्वन्द्वपछि देशका सबै ठाँउमा रहेका निकुञ्ज र आरक्षका कार्यालय र सुरक्षा चौकी फिर्ता भए तर यहाँका भएनन्,’ अध्यक्ष बुढा भन्छन्। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त वार्डेन प्रमोदकुमार यादवले समयमै माथि जान नसकिएको स्वीकार गरे। ‘हामीसँग दरबन्दीअनुसार कर्मचारी अझै पुगेका छैनन्, त्यसले पनि समस्या आएको छ,’ उनले भने। निकुञ्जमा छजना रेन्जरको दरबन्दी भए पनि दुई जना मात्र कार्यरत छन्। कर्मचारी अभावमा निकुञ्जका चौकीहरूमा गेम–स्काउटमात्र पठाउने गरेको यादवले बताए।

निकुञ्जका कर्मचारीहरू समयमै माथि नउक्लिएपछि उपल्लो डोल्पाका सर्वसाधारण घर बनाउने काठ पुर्जी लगायतका कागजात लिन छ दिन हिडेर सुलिगाँढस्थित निकुञ्जको प्रमुख कार्यालयमा आइरहेका थिए। अब झन् जेठ १४ गतेबाट यार्सागुम्बा टिप्नका लागि निकुञ्ज खुला गर्ने निर्णय भएको छ। यतिबेला राज्यको उपस्थिति अत्यन्त बलियो हुनुपर्ने सरोकारवालाहरू बताउँछन्। निकुञ्जको सुरक्षा जिम्मेवारी सम्हालिरहेको ईश्वरी बक्स गुल्मका क्याप्टेन कुमार थापाले ठेकेदारले समयमै रासन पु¥याउन नसकेका कारण आफूहरू माथि (फोक्सुण्डो) उक्लिन नपाएको बताए। ‘हाम्रो एउटा टोली अहिले पनि सुन्दुवामा छ। त्यहींबाट माथि जाने–आउने गर्छ। सुलिगाँढदेखि सुन्दुवासम्मको क्षेत्रमा यहींबाट गस्तीमा पठाउने गरेका छौं,’ उनले भने, ‘हामी तुरुन्त जाने तयारीमा छौं।’

अहिले सुलीगाँढबाट माथि उक्लिने क्रममा पर्ने सबै सबै चौकीहरू बन्द छन्। ताल र निकुञ्जको संरक्षणको जिम्मा पाएको निकुञ्ज प्रशासन र सेनाको फोक्सुण्डो किनारमा रहेका सुरक्षा पोस्टमा भोटे ताल्चा झुन्डिएका छन्। वार्डेन यादव निकुञ्ज र सेनाको प्रमुख कार्यालय माथि सार्ने विषय आफ्नो जिम्मेवारीमा नपर्ने बताउँछन्। ‘यो निर्णय केन्द्रले गर्नुपर्छ। हामी त जहाँ बस भन्यो त्यही बस्ने हो।’ त्यसो त शे–फोक्सुण्डो मध्यवर्ती क्षेत्र व्यवस्थापनका पदाधिकारीहरू बर्दियामा सम्पन्न पछिल्लो वार्डेन सम्मेलनमा पनि निकुञ्जको प्रमुख कार्यालय पलममा सार्न वन नेतृत्वको ध्यानाकर्षण गराएका थिए। यति मात्र नभई सेनाको गुल्मले मात्र यति ठूलो भूगोल आगटेको निकुञ्जको सुरक्षा गर्न सक्दैन भन्ने ठहर गर्दै गुल्मको सट्टा गण स्थापना गर्नुपर्ने पनि माग राखेका छन्। ‘यो विषयमा छलफल भइरहेको छ तर त्यो केन्द्रले गर्ने काम हो,’ वार्डेन यादवले भने।

अहिलेसम्म उपल्लो डोल्पामा सेनाको चौकी छैन। निकुञ्जले उपल्लो डोल्पाको धोमा चौकी बनाएको त छ तर त्यहाँसम्म अहिलेसम्म कोही पुगेको छैन। यसैगरी साल्दाङ्गमा यस वर्ष चौकी बनाउने ठेक्का दिएको छ। निकुञ्जभित्र डोल्पाका शे–फोक्सुण्डो र जगदुल्ला गरी दुई वटा गाँउपालिका पर्छन्।

सुलिगाढबाट फोक्सुण्डोबीचमा पर्ने निकुञ्जको छेप्का पोष्ट । यो कार्यालयमा पनि अहिलेसम्म खुलेको छैन ।

शे–फोक्सुण्डोको ९९ प्रतिशत र जगदुल्लाको ६० प्रतिशत भूभाग निकुञ्जमा पर्छ। निकुञ्जमा मुगुको पनि एउटा गाँउपालिकाका केही वडा पर्छन्। शे–फोक्सुण्डो गाँउपालिका–८ का वडा अध्यक्ष निमा लामा निकुञ्जका कर्मचारी समयमै माथि नआइदिँदा सर्वसाधारणले दुःख पाएको गुनासो गर्छन्। रेन्जर र गेमस्काउटलाई समयमै माथि नपठाएर निकुञ्ज प्रशासनले लापरवाही गरेको उल्ले गर्दै लामाले प्रश्न गरे, ‘राज्य सुविधा खोजेर तल बस्ने, जनतालाई सुविधा कसले दिने ?’

रिग्मास्थित फोक्सुण्डो ताल उक्लिनुभन्दा अघि आउने चुनुबारमा विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा स्थापना गरिएको आम्ची अस्पताल अघिल्लो वर्षसम्म सञ्चालनमा थियो। तर अहिले बन्द छ। कान्छेन मेन्खान आम्ची नामबाट परिचित यो अस्पतालमा उपचार सेवा दिँदै आएका व्यक्तिको निधन भएपछि एक वर्षदेखि अस्पताल बन्द भएको शे–फोक्सुण्डो–८ पुग्मोका आङबहादुर लामाले बताए। अहिले आम्ची अस्पताल भारी राख्ने ठाँउमा परिणत भएको छ।

यसक्षेत्रको सबैभन्दा माथिल्लो भेगमा शे–फोक्सुण्डो गाँउपालिका–८ (चुनुबारमै) रहेको सरकारको फोक्सुण्डो स्वास्थ्य चौकी पनि बन्द छ। देशभर खोप अभियान चलिरहेका बेला यहाँको स्वास्थ्य चौकीमा ताल्चा लागेको छ। यो स्वास्थ्य चौकीमा छ जनाको दरबन्दी छ। चौकी इन्चार्ज, अहेब दुईजना, अनमी दुईजना र कार्यालय सहायक एकजनाको दरबन्दी छ। तरपनि यो स्वास्थ्य चौकी बन्द छ।

ताल किनारमा रहेको सेनाको सुरक्षा पोष्ट । यो पोष्टमा अहिलेसम्म सेना आइपुगेका छैनन ।

तापिरिचा माध्यमिक विद्यालयले बनाइदिएको भवनमा रहेको स्वास्थ्य चौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मीको तलब पनि सोही विद्यालयले दिँदै आएको विद्यालयका उपप्रबन्ध निर्देशक रामचन्द्र बुढाले बताए। आफ्ना विद्यार्थीले पनि स्वास्थ्य सेवा पाउँछन् कि भन्ने आशमा विद्यालयले चौकीमा लगानी गरेको बताउँदै उनले भने, ‘यति गर्दा पनि स्वास्थ्य चौकी निरन्तर रूपमा सञ्चालन हुन सकेन।’ फोक्सुण्डो विद्यालयको हालत पनि उस्तै छ। दुनैबाट सुलिगाँढ हुँदै रिग्मास्थित फोक्सुण्डो ताल जाने क्रममा बाटो भएका सबै प्राविका प्रशासनिक कक्षमा ताल्चा झुन्डिएका छन्। चौरी र खच्चरका आराम गर्ने थलोको रूपमा परिणत भएका विद्यालयका कक्षाकोठाहरू गोबरै–गोबरले भरिएका दुर्गन्धित अवस्थामा छन्।

फोक्सुण्डो जाने क्रममा पर्ने र्याची आधारभूत विद्यालयको कक्षा कोठा । विद्यालयका कक्षा कोठा चौरी र खच्चरको गोठ बनेको छन् । विद्यालयमा ताला लागेको छ ।

शे–फोक्सुण्डो गाँउपालिका कार्यालय पनि उपल्लो डोल्पाको साल्दाङमा छ। गाँउ परिषद् बैठक जसोतसो साल्दाङमा भए पनि अरू सबै काम डोल्पा सदरमुकाम दुनैबाट हुने गरेको छ। सबै वडाका अध्यक्षहरू दुनैमा बसेर काम गर्छन। उपल्लो डोल्पाका सर्वसाधारण सबै कामका लागि दुनै धाउनुपर्ने बाध्यता छ।

साभारः नागरिक

ताजा समाचार

सम्बन्धित समाचार