विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तहको यस्तो योजना

कालिकोट–कर्णाली प्रदेशको सबैभन्दा विकट जिल्ला मानिन्छ कालिकोट। यहाँको भौगोलिक बनावट अप्ठ्यारो छ। कालिकोटको सदरमुकाम मान्मा पनि खाँडाचक्र नगरपालिकामा नै पर्छ। यो नगरपालिकामा दलित समुदायको बाहुल्यता छ। सुख्खाग्रस्त यो स्थान विभिन्न प्राकृतिक प्रकोपको जोखिममा पनि छ।

पहिरो खाँडाचक्र नगपालिकाको मुख्य समस्या हो। वडा नम्बर ५ र ६ मा पर्ने मुर्मा बजारका स्थानीयले हरेक वर्ष पहिरोबाट हुने क्षति भोग्दै आएका छन्।

कतिपय स्थानमा प्राकृतिक प्रकोपका कारण स्थानीयले थातथलो छोड्नु पर्ने पीडा पनि भोगेका छन्। विकासका संरचना निर्माण गर्दा क्षति पुगेका उदाहरण पनि भेट्न सकिन्छ। क्षति भोग्नु परेपछि स्थानीय पनि अहिले अलि सचेत बनेका छन्। आफ्नो तहबाट गर्न सकिने उपायहरू अपनाइ रहेका छन्।

‘म आफैँले पनि टिमुर खेती गर्न थालेको छु। स्थानीय मानिसहरूलाई कसरी सचेत हुने भन्ने बारेमा सिकाउन पनि जरुरी छ। सबै मानिसले यसरी नै गर्ने हो भने प्राकृतिक प्रकोपको नियन्त्रण गर्न सकिन्छ,’ खाँडाचक्र नगरपालिका– ६ का जनक शाहीले भने।

यहाँको पहिरोको कारण प्राकृतिक मात्र नभएर मानवीय गतिविधि पनि हो। खास गरी ग्रामीण सडक निर्माण गर्दा मापदण्ड पुरा नगरिएकाले पहिरोको जोखिम बढेको हो। धेरै क्षति बेहोर्नु परेपछि नगरपालिकाले यस्ता सडक निर्माण गर्दा मापदण्डमा ध्यान दिने योजना बनाउन थालेको छ। स्थानीयले पनि आफ्नो तर्फबाट अपनाउने सावधानी अपनाइ रहेका छन् । तर ठूला–ठूला पहिरा स्थानीय स्तरको योजनाले नियन्त्रण गर्न कठिन छ।

‘पहिले जाली त हालेको हो। तर जाली हालेर पनि खास फाइदा भएन। जाली बगाइ हाल्छ। यस्तै छ, समस्या नै हुन्छ । थोरै पैसाले हुँदैन,’ खाँडाचक्र नगरपालिका–५का राजबहादुर शाहीले भने।

खाँडाचक्र नगरपालिका–५ मनरुप हमालका अनुसार पहिरो नियन्त्रणका लागि जाली हाल्ने , रुख रोप्ने जस्ता काम गरिरहे पनि यसमा स्थानीय तहले सहयोग गर्नुपर्ने बताउँछन्।

अब वर्षायाम सुरु हुँदै छ। वर्षामा पहिरोको जोखिम धेरै हुनु स्वाभाविक हो। नगरपालिकाले वर्षायाममा हुने जोखिमको न्यूनीकरणका लागि केही आपत्कालीन योजना पनि बनाएको छ। यस्ता योजनामा जोखिम बढी भएको स्थानमा कसरी सुरक्षित रहने, उद्धार कसरी गर्ने जस्ता कुरा समेटिएका छन्। नगरपालिकाले स्थानीयलाई प्रकोप नियन्त्रणका कुरा पनि सिकाउने गरेको छ। खाँडाचक्र नगरपालिकाका नगर परिषद् सदस्य धर्मराज ताम्राकार सबै वडाका समस्याहरूको दस्ताबेज तयार गरिसकेको र अहिले प्राकृतिक प्रकोप नियन्त्रण गर्नका लागि काम भइरहेको बताउँछन्।

‘हामीले आफ्नै कारणले पनि प्रकोपलाई साथदिइ रहेका हुन्छौँ। अब त्यस्तो गर्न हुँदैन। वन संरक्षण गरे हामीलाई नै फाइदा हुन्छ भन्ने कुरा हामी स्थानीयलाई सम्झाउँदै छौँ। प्रकोप कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने उपाय सिकाइ रहेका छाैँ,’नगर परिषद् सदस्य ताम्राकारले भने।

सबै वडामा जोखिम पहिचानको काम सकिएपछि नगरपालिकाले समाधानको दीर्घकालीन योजना बनाउने छ। यस्ता योजना कार्यान्वयनका लागि भने नगरपालिका एक्लैलाई समस्या छ।

स्थानीय स्तरमा प्रकोप नियन्त्रणका काम भइरहेकै छन्। नगरपालिकाले पनि योजना बनायो। नगरपालिकालाई योजना कार्यन्वयनमा प्रदेश र सङ्घ सरकारको सहयोग आवश्यक देखिन्छ।

पछिल्लो समय तापक्रममा वृद्धि हुँदै गएको छ। वर्षा हुने तरिकामा पनि परिर्वतन भएको छ। यसका कारण पनि प्राकृतिक जोखिम बढेको अध्ययनहरूले देखाएका छन्। नगरपालिकाले यस्ता कुरालाई पनि योजनाको आधार बनाउने तयारी गरेको छ।

‘हामीले ३० वर्षको अनुभव पनि सङ्कलन गरेका छौँ। त्यो कुरालाई पनि हामी योजना बनाउँदा ध्यानमा राख्ने छाैँ,’ ताम्राकारले भने।

खाँडाचक्र नरपालिकाले प्राकृतिक प्रकोप नियन्त्रणका लागि बनाएको योजना कार्यान्वयनमा सबै पक्षले साथ दिन आवश्यक छ। यस्ता योजना अन्य स्थानीय तहले पनि निर्माण गरी कार्यन्वयन गर्न सके प्राकृतिक प्रकोपका कारण हुने क्षति कम गर्न सकिन्छ।

ताजा समाचार

सम्बन्धित समाचार