जलवायु परिवर्तनले चराको बासस्थान सङ्कटमा, पाइने छाडे चरा

काठमाडौँ – जलवायु परिवर्तनसँगै चराको बासस्थान र आहारमा परेको प्रभावले विभिन्न प्रजातिका चराहरू सङ्कटमा पर्ने क्रम बढ्दै गएको छ। ३० वर्षअघिसम्म पर्याप्त मात्रामा देखिने चराहरू अहिले देखिन छाडेका छन्। चराविद् डा. हेमसागर बराल जलवायुमा देखिएको परिवर्तनका कारण चराहरू लोप हुँदै गएको बताउँछन्।

डा. हेमसागर बरालका अनुसार सन् १९९० को हिउँदमा हेटौँडाभन्दा दक्षिणतर्पm राप्ती नदी क्षेत्रमा दुई दर्जन तिलहरी चरा भेटिएका थिए। सन् ९० को दशकसम्म त्रिशूली, राप्ती, गण्डकी, बुढीगण्डकी, भोटेकोशीलगायतका नदीमा तिलहरी चरा छ्याप–छ्याप्ती भेटिन्थे। उनी भन्छन् , ‘त्यतिबेला बथानमा भेटिने यी चरा अचेल देखिन छाडेका छन् ।’

डा. बरालका अनुसार, सङ्कटापन्न प्रजातिभित्र पर्ने तिलहरी चरा उदाहरण मात्र हो । ३०–४० वर्षअघि उल्लेख्य मात्रामा देखिने अन्य चराहरूको संख्या पनि अचेल घटेको छ । काफल पाक्यो, पानीहाँस, उत्कोशी फ्याफ्याले आदि चराहरूको संख्या निरन्तर घट्दै छ ।

सन् १९९६ मा नारायणी नदीको पुलदेखि ८ किलोमिटर दक्षिणतर्फ उत्कोशी फ्याफ्याले चराका एक दर्जन जति गुँड देखिएका थिए । अहिले त्यस क्षेत्रमा उक्त चरा देख्नै पाइँदैन।

सन् १९८६ सम्म हिउँदमा कोशी ब्यारेजको आसपासको क्षेत्र पानीहाँसले ढाकिएको हुन्थ्यो। तिब्बत र रूसको साइबेरियाबाट आउने पानीहाँस ५० हजारसम्म रेकर्ड गरिएकोमा अहिले पुरै कोशीटप्पु क्षेत्र घुम्दा पनि १० हजार जति पानीहाँस देख्न सकिँदैन । सन् २०१६ मा गरिएको अध्ययनअनुसार नेपालका १६८ प्रजातिका चरा सङ्कटापन्न सूचीमा छन्। नेपाल पक्षी संरक्षण संघका अध्यक्ष राजेन्द्र गुरुङ चरा लोप हुने क्रम हरेक वर्ष बढीरहेको बताउँछन्।

जलवायुको प्रभाव
चराविद्हरूका अनुसार चराको संख्या घट्दै जानुको प्रमुख कारण जलवायु परिवर्तनले बासस्थान तथा आहारमा पारेको प्रभाव हो । रसुवाको लाङटाङ खोलाको क्यान्जिङ, कालीगण्डकीको टुकुचे, सोलुखुम्बुको पाङ्बोचे, गौरीशंकरको बेदिङ क्षेत्रका हिमनदी किनारमा गुँड बनाउने तिलहरी चरालाई पछिल्लो समय अप्रत्याशित रूपमा हिउँ पग्लिएर नदीको सतह बढ्ने हुँदा बासस्थानको समस्या भएको छ।

‘पहिलेको आधारमा नदीमा हुने पानीको सतह घटबढको अनुमान गरेर तिलहरी चराले गुँड लगाउँछ। पछिल्लो समय उसले गरेको अनुमान नै मेल खाँदैन’ डा. बराल भन्छन्। तापक्रम बढेर अप्रत्याशित हिउँ पग्लिँदा तिलहरीको बासस्थानमै सङ्कट आएपछि संख्या घट्दै गएको बरालको भनाइ छ।

तापक्रम वृद्धिसँगै हिमनदी पग्लिने र हिमतालको आकार बढ्दै जाने क्रम बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली क्षेत्रमा तापक्रमको वृद्धि दर वार्षिक ०.०८ डिग्री सेल्सियस छ।

त्यस्तै नेपालको वार्षिक तापक्रम वृद्धिदर ०.०५६ डिग्री सेल्सियस छ। पछिल्लो ३० वर्षमा नेपालको तापक्रम १.६ डिग्री सेल्सियसले बढेको छ । जसका कारण हिमतालको संख्या र क्षेत्र बढ्ने क्रम पनि जारी छ । त्रिभुवन विश्वविद्यालय, भूगोल विभागका प्रमुख डा. नरेन्द्र खनालका अनुसार सन् १९७७ मा कोशी बेसिनअन्तर्गत ११६० हिमताल रहेकोमा जलवायु परिवर्तनका कारण सन् २०१० सम्ममा हिमतालको संख्या बढेर २१६८ पुगेको छ।

सन् १९७७ मा हिमतालहरूको कुल क्षेत्रफल ९४.४४ वर्ग किमि रहेकोमा २०१० सम्म बढेर १२७.६८ वर्ग किमि पुग्यो । तिब्बती क्षेत्रमा पनि यही रफ्तारमा हिमतालको वृद्धि र विस्तार भइरहेको छ।

नेपाल पंक्षी संरक्षण संघका अध्यक्ष गुरुङका अनुसार नेपालमा रैथाने र आगन्तुक गरी दुई प्रकारका चरा पाइन्छन् । जाडो छल्न तिब्बत र रूसको साइबेरियासम्मबाट नेपालको तराईमा आउने चराहरूको संख्या पछिल्लो समय घट्दो छ । जलवायु परिवर्तनका कारण नेपालको तराईको जति तापक्रम उतै पाइने भएपछि आगन्तुक चराको संख्यामा कमी आएको डा. बरालको अनुमान छ।

चराको मुख्य आहार कीरा–फट्याङ्ग्रा वनस्पतिमा फूल खेल्ने तथा फल्ने समयमा बढी देखिन्छन्। जलवायु परिवर्तनका कारण वनस्पतिमा फूल खेल्ने तथा फल्ने समयमा पनि परिवर्तन आएको छ। बचेरा कोरल्ने बेला पर्याप्त आहार नहुँदा पनि काफल पाक्यो, ठेउवा, उत्कोशी फ्याफ्याले, चिबे लगायत चराहरूको संख्या घट्दै गएको डा. बरालको भनाइ छ।

अर्काेतिर जलवायु परिवर्तनका कारण तराईका चरा पहाडमा र पहाडका चरा हिमालतिर देखिन थालेका छन्।

पक्षी संरक्षण संघले गरेको अध्ययनमा दुई साताअघि काठमाडौँको रानीवनमा लालचुच्चे ठेउवा नामको चरा देखियो। तराई क्षेत्रमै बासस्थान बनाएर बस्ने निलपुच्छ्रे मुरली चराले काठमाडौँ उपत्यकालाई बासस्थान बनाएको छ। यो चरा समूहगत रूपमै गोदावरी क्षेत्रमा पाइएको संघको भनाइ छ ।

छैन तथ्याङ्क
जलवायु परिवर्तनले चराहरूको बासस्थानमा परेको असर सम्बन्धी विस्तृत अध्ययन अहिलेसम्म भएको छैन्। चराविद् बरालका भनाइमा नेपालमा चराको रेकर्ड राख्न थालेको ३०–३५ वर्ष मात्रै भएकाले कुन चरा कति संख्याले घटे वा बढे भन्न सकिँदैन।

पहिले केही विदेशीले नेपालमा चराको अध्ययन गरे पनि कति संख्यामा चरा पाइएका थिए, त्यसको रेकर्ड उपलब्ध छैन्। सन् १७७० मा डब्लू जे क्रिकले नेपालमै पहिलो पटक चरा गणना गरेका थिए ।

त्यसैगरी सन् १८२० देखि १८४६ सम्म ब्रायन हड्सनले २६ वर्ष लगाएर नेपालमा ६०० प्रजातिका चरा पत्ता लगाएका थिए। त्यस्तै सन् १९३७ मा एफएमवेली र सन् १९४९ मा रिप्ले जस्ता विदेशी नागरिकले नेपालमा चराको अध्ययन गरेका थिए।

डा. बरालका अनुसार, बासस्थान तथा आहारको अवस्थालाई अध्ययन गर्दा पाइएका तथ्यले तापक्रम वृद्धिका कारण चराको संख्यामा उल्लेख्य कमी आएको भन्न सकिन्छ । थप तथ्यहरूका लागि विस्तृत अध्ययनको खाँचो रहेको उनको भनाइ छ।

अन्य देशमा भएका अध्ययनहरूले भने जलवायु परिवर्तनका कारण चराहरूमा प्रभाव परेको पाइएको छ। ‘नेचर क्यानडा’ का अनुसार जलवायु परिवर्तनले चराको व्यवहार, आनुवंशिकताका साथै बसाइँ सराइ, बच्चा कोरल्ने समयमा समेत परिवर्तन आएको छ।

दक्षिण अमेरिकामा गरिएको अध्ययनअनुसार, हरेक १० वर्षमा चराले ६ दिनअघि नै फूल पार्न थालेका छन्। १० वर्षको तुलनामा ‘कमन मुरे’ नामको चराले २४ दिनअघि नै बच्चा कोरल्न थालेको पाइयो। त्यसैगरी सामान्य तापक्रम वृद्धि हुँदा पनि चराहरूले ६ दिनअघि गुँड बनाउन सुरु गरेको ‘नेचर क्यानडा’ को रिपोर्ट छ।

६३ वर्षको अध्ययनले ९७ प्रजातिका चरामध्ये २७ प्रजातिका चराको बसाइँसराइको मितिमा परिवर्तन आएको पाइएको छ। यस्तो उदाहरण नेपालमा पनि पाइन्छ। नेपालमा हिउँदताका आएर गत चैतमै फर्किनुपर्ने खोडखोडे हाँस अहिले पनि जगदीशपुर तालमा पाइन्छन्।

ताजा समाचार

सम्बन्धित समाचार