Monday, September 30, 2024

धनगढी विमानस्थलको हवाई उडान एक महिना बन्द

धनगढी–धनगढी विमानस्थलको उडान सेवा एक महिनाका लागि बन्द गरिएको छ।

विमानस्थलको धावनमार्ग स्तरोन्नति र पार्किङ क्षेत्र विस्तार गर्नुपर्ने भएकाले उडान सेवा वैशाख २२ गतेदेखि बन्द गरिएको विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढाथापाले बताए।

करिब २२ करोड रुपैयाँमा धनगढी विमानस्थलमा धावनमार्ग र पार्किङ क्षेत्र विस्तार लगायतको कार्य भइरहेको एक महिनाका लागि बन्द गरिएको उनले बताए।

विमानस्थलको स्तरोन्नती गर्न लुम्बिनी, कोसी एण्ड न्यौपाने, खड्का, कोइराला जेभी काठमाडौँसँग १७ करोड ८८ लाखमा एक वर्षका लागि ठेक्का सम्झौता भएको छ।

निर्माण कम्पनीले आइतबारदेखि काम सुरु गरेको छ। ६० मिटर चौडाइ र एक हजार आठ सय मिटर लम्बाईको कालोपत्रे रनवे रहेको धनगढी विमानस्थलको दुबैतर्फ २ र २ मिटर फराकिलो बनाइने छ। एक हजार आठ सय मिटर लामो र ३० मिटर चौडा धावनमार्गमध्ये ८ सय मिटर धावनमार्ग पूर्णरुपमा भत्काएर पुनः निर्माण गर्न लागिएको प्रमुख बुढाथापाले बताए।

त्यस्तै पार्किङ क्षेत्रमा २ वटा जहाज एक साथ अड्याउने व्यवस्था रहेकामा अब एकसाथ ४ वटा जहाज पार्किङ गर्न सकिने गरी पार्किङ क्षेत्रको विस्तार भइरहेको छ।

धनगढी विमानस्थलमा बुद्ध एयरको दैनिक दुई, श्री एयरको दैनिक दुई, नेपाल एयरलाइन्सको हप्तामा तीन दिन एक/एक उडान हुँदै आएको थियो। उडान सेवा आगामी जेठ महिनाको २१ गतेपछि सुचारु हुने छ।

ताजा समाचार

सम्बन्धित समाचार