Monday, September 30, 2024

पुनर्निर्माणका लागि १५६ अर्बको बजेट स्वीकृत

काठमाडौँ—आगामी आर्थिक वर्ष २०७६/०७७ मा पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि १ सय ५६ अर्ब रुपैयाँको बजेट स्वीकृत भएको छ ।

नेपाल सरकारमार्फत पुनर्निर्माण तथा पुनर्स्थापनामा चालू आर्थिक वर्षको संशोधित अनुमान सहित २ खर्ब ९१ अर्ब रुपैयाँ खर्च हुनेछ। त्यसअतिरिक्त विभिन्न गैरसरकारी संस्थाहरु एवं निजी क्षेत्रहरुबाट पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यहरु भइरहेका छन्।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्ने निर्णय गरेको हो।

पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी पञ्चवर्षीय योजनाको कार्यान्वयनका लागि यसअघि निर्धारित कुल ९ खर्ब ३८ अर्ब बराबरको वित्तीय आवश्यकता रहेको बताइएको थियो। तर, लक्ष्य पुनरावलोकन गरी सरकारको बजेटरी प्रणालीबाट सरकार एवं दातृ निकायको स्रोत समेत गरी कुल ६ खर्ब ३० अर्ब बराबरको वित्तीय स्रोत परिचालन गर्ने प्रस्ताव जानकारी गराएको थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पुनर्निर्माणको कार्य तीव्र रुपमा भइरहेको बताउँदै बाँकी काम पनि राम्रो गर्न निर्देशन दिए। अर्थमन्त्री डा युवराज खतिवडाले पुनर्निर्माण र पुनर्स्थापनाका कार्यहरुका लागि आवश्यक पर्ने थप बजेट व्यवस्थापन गर्न विभिन्न दातृ निकायहरुसँग परामर्श अघि बढाएको र उनीहरु सकारात्मक रहेको जानकारी दिए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण कार्यले गति लिएको भन्दै बाँकी कार्य सम्पन्न हुने अवधि बजेट परिचालनमा भर पर्ने बताए। प्राधिकरणको कार्यकाल अब २० महिना बाँकी छ ।

यस्तै भूकम्प प्रभावित क्षेत्रमा आर्थिक तथा सामाजिक पुनरस्थापनाका कार्यक्रमहरु सञ्चालन गर्ने, प्राधिकरणको पहलमा कम्तिमा ७५ वटा एकीकृत बस्तीहरुको पुनर्निर्माण सम्पन्न गर्ने तथा जोखिमयुक्त बस्तीहरुको संरक्षण गर्ने लगायतका योजनाहरुलाई समेटिएको छ ।

बैठकमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माण तथा पुनर्स्थापनामा हालसम्म भएका उपलब्धीहरु पेश गर्नु भएको थियो । जसमा निर्माण सम्पन्न र निर्माणाधीन गरी निजी आवासतर्फ ८१ प्रतिशत, विद्यालयतर्फ ८८ प्रतिशत, स्वास्थ्य संस्थातर्फ ६६ प्रतिशत, पुरातात्विक सम्पदातर्फ ५९ प्रतिशत, सुरक्षा निकायका भवनतर्फ ५६ प्रतिशत र सरकारी भवनतर्फ ९८ प्रतिशत प्रगति हासिल भएको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पछिल्लो चरणमा द्रुत गतिमा पुनर्निर्माणका काम भइरहेकाले बाँकी संरचनाहरुको पुनर्निर्माण कार्य एकपछि अर्को गरि सम्पन्न हुँदै जाने बताए।

ताजा समाचार

सम्बन्धित समाचार